|

चितवन : केही दिन अघिबाट रोकिएको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य पुन सुरु हुने भएको छ। रंगशाला निर्माण क्षेत्र आसपासका स्थानीय विभिन्न टोलविकास संस्थाहरुले निर्माणमा पूर्णसहयोग गर्ने प्रतिबद्धता जनाएपछि धुर्मुस सुन्तली फाउण्डेसन काम अगाडि बढाउन सहमत भएको हो। 

शुक्रबार साँझ महानगर, फाउण्डेसन र स्थानीयबीचको वार्ताका क्रममा स्थानीय ५ वटा टोल विकास संस्थाले निर्माणका काम सुरु गर्न फाउण्डेसनलाई लिखितरूपमै आग्रह गरेका थिए। उनीहरुको लिखित पत्रमा भनिएको छ, ‘रंगशालाको तारबारमाथि डोजर लगाइएको घट्नाप्रति खेद व्यक्त गर्दै आत्मालोचना गर्दै आगामी दिनमा रंगशाला निर्माण कार्यमा साथ, सहयोग, सद्भाव, सक्रियता र जनस्तरबाट हुने सुरक्षाप्रति प्रतिबद्ध छौँ।’

निर्माण कार्यलाई अगाडि बढाउन केही निर्णय पनि गरिएको छ। भत्किएको पर्खाल स्थानीय र टोल विकास संस्था मिलेर पुनः निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ। यस्तै, असन्तुष्ट स्थानीयको सडक विस्तारको मागबारे रंगशालाको डिपिआर तयार भएपछि, मापदण्डअनुसार स्थानीय, महानगरपालिका, विश्वविद्यालय र फाउण्डेसन मिलेर निर्माण गरिने सहमति पनि भएको छ।

शान्तिदीप टोल विकास संस्थाका मीनबहादुर लामा, पालुवा टोल विकास संस्थाका मीनबहादुर बस्नेत, रामपुर टोल विकास संस्था रिता बस्ताकोटी, प्रकृति टोल विकास संस्थाका रामचन्द्र बस्ताकोटी, राधाकृष्ण टोल विकास संस्थाका सुशील लामाद्वारा जारी गरिएको विज्ञप्तिमा रंगशाला पुनः बनाउने सहमति भएको हो। यसअघि फाउण्डेसनका अध्यक्ष धुर्मुसले रोकिएको निर्माणकार्य अघि बढाउन स्थानियको बलियो साथ आवश्यक रहेको बताएका थिए। 

सहमति भएसँगै शनिबार बिहान भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालको नेतृत्वमा फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस, उपाध्यक्ष कुन्जना घिमिरे सुन्तली समेतको उपस्थितिमा, राजनीतिक दल, नागरिक समाज, पत्रकार कर्मचारी स्थानीय तथा सर्वसाधारणको सहभगितामा भत्किएको संरचना निर्माणका साथै बृहत् जनसहभागिताका साथ निर्माण कार्य थालिने भएको छ। 

तारबार भत्काउने कार्यमा संलग्न भएको आरोपमा डेढ दर्जनलाई प्रहरीले पक्राउ गरी कानुनी प्रकृया अघि बढाएको छ। चितवनको रामपुरमा २० बिघा ६ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशाला भदौमा शिलान्यास गर्ने तयारीका साथ निर्माण पूर्वका विभिन्न कामहरू धमाधम भइरहेको छ। देश तथा विदेशबाट सहयोग संकलन हुने क्रम पनि बढिरहेको छ। रंगशाला शिलान्यास भएको २ वर्षमा निर्माण सम्पन्न गरी फाउण्डेसनले भरतपुर महानगरलाई हस्तान्तरण गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.