|

ओखलढुङ्गा : चम्पादेवी गाउँपालिका–१ र २ मा पर्ने पलापुमा लामो समयदेखि पानी नपरेपछि मकै खडेरीले मकै सुक्न थालेको छ।

कुनै समय पलापु क्षेत्रमा कपास खेती हुने गरेको भए पनि खाडीका कपडाले बजार नपाएपछि कपास खेती गर्न छाडिएको हो। सुख्खा सहने कपास खेती छाडेर किसानहरुले खाद्यान्न बालीको खेती गर्न थालेको चम्पादेवी–२ का अध्यक्ष विष्णु पुलामी मगरले बताए।

यद्यपि, किसानलाई कपास खेतीमा नै आकर्षित गराउन गाउँपालिकाले अभियान थालेको वडाध्यक्ष मगरको भनाइ छ। गाउँपालिकाले चालु आर्थिक वर्षमा कपास खेतीका लागि पाँच लाख रुपैयाँ विनियोजन गरेर काम थालेको चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले बताए। आगामी आर्थिक वर्षमा पनि कपास खेतीलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्ने योजना रहेको अध्यक्ष केसीको भनाइ छ।

किसानलाई खाडीका कपडा बुन्ने तालिम दिएर उद्यमी बनाउने गाउँपालिकाको योजना छ। जसबाट सुख्खाकै कारण वर्षभरि खान नपुग्ने यहाँका बासिन्दालाई रोजीरोटीका लागि वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता हटाउने योजना रहेको अध्यक्ष केसीले बताए।

ओखलढुङ्गाको लिखुनदी, सुनकोशी र दूधकोशीको किनार र आसपासमा आकाशे पानीको भरमा खेती गर्नुपर्ने यहाँका किसानको बाध्यता रहेको छ। चम्पादेवी गाउँपालिकाको पश्चिमी क्षेत्र, लिखु गाउँपालिकाको दक्षिणी क्षेत्र, सुनकोसी गाउँपालिकाको दक्षिण पश्चिम क्षेत्र, मानेभञ्ज्याङ गाउँपालिकाको पूर्वी तथा पश्चिमी क्षेत्र, सिद्धिचरण नगरपालिकाको दक्षिण क्षेत्र र चिसंखुगढी गाउँपालिकाको अधिकांश भूभागमा किसानहरु खडेरीको मारमा पर्ने गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.