|

काठमाडौं :  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली साहित्य सिर्जनाले माटोको सुगन्ध प्रस्तुत गरी मुलुकको सामाजिक रुपान्तरणमा विशिष्ट स्थान दिएकाले यसबाट नीति निर्माणसमेत सहयोग पुग्ने बताएकी छन्।  नेपाल प्रज्ञा–प्रतिष्ठानको कविता महोत्सव, २०७५ का पुरस्कृत कविलाई  मंगलबार शीतल निवासमा आयोजित पुरस्कार वितरण समारोहमा राष्ट्रपति भण्डारीले कविले नेपाल राष्ट्र र नेपाली जनताका भावनालाई आत्मसात् गरी अनमोल कविता लेख्नु खुशीको विषय भएको व्यक्त गरिन्। 

'कविले विविध भाव, विचार, प्रकृति र संस्कृतिका साथै सामाजिक रुपान्तरणमा विशिष्ट स्थान दिनु गौरवको विषय हो । साहित्यिक पर्यटनका माध्यमबाट मुलुकलाई साहित्यकारले योगदानसमेत दिन सक्नेछन्' राष्ट्रपति भण्डारीको भनाइ थियो।

समारोहमा विसं २०७५ को कविता महोत्सवमा प्रथम हुने फूलमान बल, दोस्रो सुनिता खनाल र तृतीय हुने मेनुका चापागाईं र एलिना दुलाललाई पुरस्कृत गरियो । तृतीय हुने अर्का कवि जीवन खत्री उपस्थित भएनन्। 

यसैगरी विसं २०७२ का प्रथम र दोस्रो हुने कवि क्रमशः प्रोल्लास सिन्धुलीय र सरस्वती राईको बाँकी पुरस्कार प्रदान गरिएको थियो ।   प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कविलाई सिर्जनामा उत्प्रेरित गर्ने उद्देश्यले विसं २०२२ देखि कविता महोत्सवको आयोजना गरिएको बताउँदै प्रतिष्ठानले अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो सम्बन्ध विकास गरेको जानकारी दिए।

प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले आगामी दिनमा महोत्सवलाई अझ व्यवस्थित र देशव्यापी बनाउने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.