अन्य दुई भाग्‍न सफल, एसपीको टोली घटनास्थल जाँदै

|

सर्लाही : प्रहरीसँगको भिडन्तमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको सर्लाही जिल्ला इन्चार्ज मारिएका छन्। जिल्लाको लालबन्दीमा प्रहरीसँग गोली हानाहान हुँदा विप्लवका जिल्ला इन्चार्ज कुमार पौडेल मारिएका छन्। 

गस्तीमा रहेको इलाका प्रहरी कार्यालय लालबन्दीको टोली र विप्लवका कार्यकर्ताबीच लालबन्दी नगरपालिका-१ लखनदेही खोला छेउमा झडप भएको हो ।

मोटरसाइकलमा रहेका विप्लवका कार्यकर्तालाई सुरक्षा जाँचका क्रममा रोक्ने क्रममा भिडन्त भएको दाबी २ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

'गस्तीमा रहेका प्रहरीमाथि पहिले विप्लवका कार्यकर्ताले गोली हानेपछि प्रतिकार भएको हो', प्रदेश २ प्रहरी कार्यालयका एक अधिकृतले थाहाखबरसँग भने, 'प्रहरीले प्रतिकार गर्ने क्रममा गोली लागेर विप्लवका सर्लाही इन्चार्ज भनिने कुमार पौडेलको ज्यान गएको छ।'

झडपका क्रममा मोटरसाइकलमा रहेका अन्य २ जना भाग्न सफल भएका छन्। प्रहीले  घटनास्थलबाट दुई थान पेस्तोल र केही गोली बरामद भएको जनाएको छ। 

घटनास्थल नजिकै रहेका लालबन्दी निवासी प्रशान्त आचार्यले पनि प्रहरीको गोलीबाट विप्लवका इन्चार्ज मारिएको बताएका छन्। घटनापछि जिल्ला प्रहरी कार्यालयबाट एसपीसहितको टोली त्यसतर्फ गइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.