सिन्धुपपाल्चोक : सिन्धुपाल्चोकका १२ स्थानीय तहले आर्थिक वर्ष ०७६/०७७ को नीति, कार्यक्रम र बजेट ल्याए। केहि स्थानीय तहले मात्रै बजेट ल्याए। अधिकांश स्थानीय तहले नीति र कार्यक्रममात्रै सार्वजनिक गरेका छन्।
सबै पालिकाको नीति र कार्यक्रमलाई अध्ययन गर्दा धेरै ठूला र महत्वकांक्षी योजना स्थानीय सरकारले सारेका छन्। तर, नीति र कार्यक्रमअनुसारकै योजनामा बजेट कार्यान्वयनमै चुनौति देखा पर्ने संकेत देखिएको छ। शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, सञ्चार, पुनर्निर्माण, सडकलगायतका पुरानै संरचनामा स्थानीय सरकारले नीति तथा कार्यक्रम ल्याएका छन्।
चौतारा साँगाचोकगढी नगरपालिकाले चालू र पुँजीतर्फ १ अर्ब २३ करोड ८७ लाख १५ हजार र संघसंस्थाको १२ करोड १ लाख ८९ हजार ६ सय ७९ गरी १ अर्ब ३५ करोड ८९ लाख ४ हजार ६ सय ७९ रुपैयाँ बजेट ल्याएको छ। कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथामिकता दिएर बजेट ल्याएको चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख जानुका पराजुलीले जनाइन्।
बाह्रबिसे नगरपालिकाले ५२ करोड ५० लाख बजेट ल्याएको छ। जसमा कृषि, शिक्षा, स्वास्थ्य सडकलाई नै प्राथामिकता दिइएको छ। मेलम्ची नगरपालिकाले पनि गतवर्षकै नीति तथा कार्यक्रमलाई पछ्याउँदै पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गर्यो।
इन्द्रावती गाउँपालिकाले ६५ करोड बजेट घोषणा गरेको छ। खानेपानीको समस्या रहेको दुई सय धुरीका लागि यस वर्षको बजेटबाट ट्यांकी र धारो निर्माणका लागि रकम खर्च गर्ने लक्ष्य रहेको अध्यक्ष बंशलाल तामाङले जनाए। शिक्षा, रोजगारी र स्वास्थ्य पनि प्राथमिकतामा रहेका छन्। जुगल गाउँपालिकाले ४२ करोड बजेट ल्याएको छ। उसले ठूला परियोजनामा बजेट खर्च गर्ने नीति लिएको छ। वडा जोड्ने सडकमा बढी रकम छुट्याएको छ।
लगानी सम्मेलन गर्ने, चौँरीगोठका बालबालिकालाई आवासीय शिक्षा प्रदान गर्ने र ठूला हिमाल चढ्नुपूर्व आरोहीलाई जुगल हिमाल चढ्ने तालिम केन्द्र सञ्चालन गर्ने नीति अगाडि सारिएको छ।
बलेफी गाउँपालिकाले शिक्षा, सडक र कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ। उसले ३७ करोड बजेट घोषणा गरेको छ। लिसंखुपाखर गाउँपालिकाले ४५ करोड ९३ लाखको बजेट घोषणा गरेको छ। सडक, पालिका भवन निर्माण, पशु कृषि, सिँचाइ र शिक्षा–स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट ल्याएको हो।
त्रिपुरासुन्दरीले ३४ करोड बजेट घोषणा गरेको छ। भौतिक पूर्वाधार र कृषिमा बजेट बढी छुट्याएको छ। कुनै पनि योजनाको अन्तिम सम्झौता चैत महिनाभित्र गरिसक्नुपर्ने नीति अगाडि सारेको हेलम्बु गाउँपालिकाले ३५ करोड बजेट ल्याएको छ। महत्वकांक्षी योजना ग्रेट ट्रेल र मोडेल विद्यालयलाई ठूलो बजेट खर्च गर्दैछ। प्रत्येक योजनाबाट दुई प्रतिशत रकम वातावरण संरक्षण र प्रवर्द्धनलाई छुट्याउनुपर्ने नीति ल्याएको छ।
पाँचपोखरी थांपाल गाउँपालिकाले पूर्वाधार, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ। भोटेकोसी गाउँपालिका र सुनकोसी गाउँपालिकाले पनि कृषि, सडक, स्वास्थ्य, खानेपानीलाई नै प्राथामिकता नीति तथा कार्यक्रम तयार गरेका छन्। समग्रमा स्थानीय तहले ल्याएको नीति, कार्यक्रम र बजेट विनियोजनको क्षेत्रलाई हेर्दा परम्परागत विकास बजेट विनियोजन गर्ने प्रचलनबाट अगाडि बढ्न नसकेको अधिकारीहरू बताउँछन्।
कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, पर्यटनलगायतको विषयमा परम्परागतशौलीमा स्थानीय तहले बजेट चिरफार गरेका छन्। केहि स्थानीय सरकारले नयाँ भिजन ल्याउने प्रयास गरेको भए पनि प्रायः स्थानीय तहको बजेट परम्परागत नै छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।