रुकुम : चौरजहारी नगरपालिका-४, की कृष्णा राणा हिजोआज बुटिक तालिममा व्यस्त छिन। बुटिक तालिम भएका कारण निकै झन्झटिलो पनि छ, जसका कारण दिनभर सियो धागोसँगै आँखा डुलाउनुपर्छ। सुरुमा काम थाल्दा जसरी उनलाई झन्झटिलो महसुस हुन्छ तर साँझ कपडामा सुन्दर बुट्टा भरेपछि त्यसको दोब्बर बढी आनन्द पनि आउँछ।
‘यसअघि आफैँले लगाउने कपडामा बुट्टा भरिएका देख्दा यो कसरी भएको होला भन्ने अचम्म लाग्थ्यो’ उनले भनिन्, ‘तालिम लिएपछि यो काम त हामी नै गर्न सक्ने रैछौ, धेरै ठुलो कुरा नै नहेनछ भन्ने अहिले महशुस र हौसल भैरहेको छ।’ तालिमको आधा समय सकिएको छ, जसले गर्दा उनीमात्र होइन १७ जना दिदिबहिनीहरू कपडामा बुट्टा भर्ने काममा निकै हौसिएका छन्।
सीप सिकेपछि व्यावसायिकरूपमा यस क्षेत्रमा लाग्ने उनीहरू बताउँछन्। विशेषगरी सोल, पछ्यौरा, ब्लाउज र सौन्दर्य लगायतका विभिन्न सामाग्रीहरूमा बुट्टा भर्ने गरिन्छ। उनीहरूको सारथि बनेकी छिन दाङकी प्रशिक्षक गीता बसेल। गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत उनीहरूलाई ४५ दिने बुटिक तालिम दिइएको हो।
कर्णाली प्रदेश सरकारको कार्यक्रमअन्तर्गत घरेलु तथा साना उद्योग विकास समिति रुकुम पश्चिमको आर्थिक सहयोगमा उत्पीडित सामुदायिक विकास केन्द्र रुकुम पश्चिममार्फत उक्त कार्यक्रम संचालन छ।
रुकुम पश्चिमका चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकामा उक्त कार्यक्रम संचालनमा छन्। उक्त कार्यक्रममार्फत विपन्न वर्गका समुदायहरूलाई समेटेर सिलाइकटाइ, बुटिक, मुढा निर्माण, कुखुरापालन र तरकारी बिउ उत्पादनको तालिमहरू सञ्चालन गर्दै आएको छ।
जिल्लाका तीन स्थानीय तहमा यस आर्थिक वर्षमा मात्र १ सय ७५ जनालाई यस प्रकारको तालिम प्रदान गरिएको छ भने १ सय १७ जनालाई स्तरवृद्धि तालिम तथा प्रविधि सहयोग गरेको उत्पीडित सामुदायिक विकास केन्द्र रुकुमका अध्यक्ष खडकबहादुर बस्त्रकारले जानकारी दिए। उनका अनुसार तालिमपश्चात् उनीहरूलाई लघुउद्यमीका रूपमा विकास गरि व्यावसायिकतामा जोड्न प्रोत्साहन गरिनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।