'हामी सबै एउटै डुङ्गामा सवार छौँ, यो कुरा सबैले मनन गरौँ'

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका निर्णयको रक्षा गर्न नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। उनले पार्टी नेता र कार्यकर्ताहरूलाई सरकारले गरेका निर्णय सिपाहीले झैँ रक्षा गर्न निर्देशन दिएका हुन्।

नेकपाको संसदीय दलको बैठकमा शनिबार प्रधानमन्त्री ओलीले पार्टी कार्यकर्ताहरूले पार्टीका नीति, नियम र अनुशासनलाई ख्याल गर्नुपर्ने पनि बताएका थिए।

नेकपाका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले भने, 'पार्टी नेता र कार्यकर्ताले पार्टीका नीति, निर्णय पालना गर्नुपर्दछ। असहमति बाहिर होइन, संसदीय दल र पार्टीका बैठकमा राख्नु पर्दछ।'

पार्टीभित्र सबै मिलेर जानुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो। उनले भने, 'पार्टीभित्र कटुतापूर्ण सम्बन्ध हुनु आवश्यक छैन। हामी सबै एउटै डुङ्गामा सवार छौँ। यो कुरा सबैले मनन गर्नुपर्दछ।'

प्रधानमन्त्री ओलीले पार्टी नेतृत्व र सरकारको नेतृत्व आलोचनाको विषय हुन सक्ने तर त्यसलाई उचित ठाउँमा व्यक्त गर्नुपर्ने बताएका हुन्।

संसदीय दलको बैठकमा सांसदहरूले उठाएका विषयको जवाफमा प्रधानमन्त्रीले सरकारले सही काम गरिरहेको बताए। उनले कमजोरी भएका भए छलफल गरेर अगाडि बढ्न तयार रहेको पनि बताए।

भारतीय निजी क्षेत्रको फिल्म अवार्ड नेपालमा आयोजना गर्दा घाटा नहुने प्रधानमन्त्रीको भनाइ थियो। आइफा अवार्ड नेपाललाई घाटा हुने गरी आयोजना नगरिने पनि प्रधानमन्त्रीले सांसदहरूलाई जानकारी दिए। 'कतिपय देशहरूले आइफा अवार्डबाट पर्यटनको राम्रो विकास गरेका छन्', प्रधानमन्त्री ओलीले भने, 'हामीले गर्न खोजेको त्यहीँ हो। यसबाट हामीलाई लाभ हुन्छ। देशका निम्ति हितकर भयो भने उसको आयोजना गर्ने भनिएको हो।'

बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरूले राखेका सुझाव, आलोचना  तथा प्रस्तावहरूलाई सम्मानपूर्वक ग्रहण गरिएको बताएका थिए।

नेकपाको शनिबार बसेको संसदीय दलको बैठकमा २२ जना सांसदले आफ्ना भनाइ राखेका थिए।

दलको अर्को बैठकको मिति चाँडै तय हुने दलका प्रमुख सचेतक देवबहादुर गुरुङले जानकारी दिए।

सम्बन्धित समाचारः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.