|

तनहुँ : नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अरूलाई कानूनको दायरामा ल्याउने प्रहरी आफैँ पवित्र बन्नुपर्ने बताएका छन्। तनहुँको भानु नगरपालिका–६ टुहुरेपसलमा निर्माण हुन लागेको प्रहरी चौकी भवनको आज शिलान्यास गर्दै उनले जनताको माया र सद्भाव पाउन प्रहरीले आफ्नो व्यवहार परिवर्तन गर्नुपर्नेमा जोड दिएका थिए।

प्रहरीले आफ्नो व्यवहार, शिष्टता र इमानदारिता प्रदर्शन गर्नुपर्ने महानिरीक्षक खनालले बताएका थिए। 'नेपाल प्रहरी जस्तो पवित्र संगठनमा बसेर प्रहरी आफैँ पवित्र हुनुपर्छ, आफैँ रोलमोडल हुनुपर्छ, अरूलाई कानुनको दायरामा ल्याउने प्रहरी पहिला आफैँ ठीक हुनुपर्छ', उनले भनेका थिए। प्रहरीले इमानदार भएर काम गरे मात्रै नेपाल सरकारले अगाडि सारेका कार्यक्रमले सार्थकता पाउने खनालले बताए।

अपराध र अपराधी तह लगाउने प्रहरीको काम भए पनि समाजमा आपराधिक घटना नघटोस् भन्ने प्रहरीको एक मात्र चाहना रहेको महानिरीक्षक खनालले उल्लेख गरेका थिए। समुदाय र प्रहरी साझेदारीमार्फत समाजका विकृति र विसङ्गति अन्त्य गर्नुपर्नेमा उनले जोड दिए। खनालले भने, 'प्रहरीलाई छुट्टै रूपमा हेर्ने दृष्टिकोण त्याग्नुपर्छ, प्रहरी जनताका लागि हो भन्ने भावना विकास गर्न जरुरी छ।'

२०७७ असार १९ गतेसम्म सम्पन्न गर्ने गरी भवन निर्माण अघि बढाइएको हो। एक करोड २३ लाख ३७ हजारको लागतमा भवन निर्माण गर्न लागिएको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.