|
फाइल तस्बिर

रसुवा : तीन दिनदेखि अबरुद्ध चीनसँगको एक मात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ स्याफ्रुबेसी सडकखण्ड सुचारु भएको छ। सडक योजना तथा गाउँपालिकाको स्काभेटर प्रयोग गरी बिहानैदेखि मर्मत गरेसँगै उक्त सडक साेमबार दिउँसोबाट सुचारु भएको हो।

अबरुद्ध सडक सुचारु भएसँगै सवारी आवतजावत नियमित भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक इश्वरी भण्डारीले बताए। त्यस्तै वर्षायाममा कच्ची सडकखण्डमा रातमा सवारी साधन नचलाउन र दिनमा सवारी साधन चलाउँदा सम्भावित जोखिमलाई ध्यान दिन जिल्ला प्रशासन कार्यालय रसुवाले सबैमा अनुरोध गरेको छ। 

शुक्रबार परेको अविरल बर्षासँगै आएको बाढीले जिल्लाको कालिका गाउँपालिका ५ गुम्चेतस्थित ठूलो खोलामा राखिएको हिमपाइप पुरेको माटो बाढीले बगाउँदा सडक अबरुद्ध थियो।

त्रिदेशीय व्यापारमा सहज बनाउनका लागि निर्माण गरिएको सडक हस्तान्तरण भएपछि स्तरोन्नति हुन सकेको थिएन। सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) असारमा सकाएर काम सुरु गर्ने योजनाका साथ प्रक्रिया अघि बढेको थियो। तर वर्षाको समयमा सडकमा पहिरोले थप क्षति गरेपछि निर्माण गरिएको डिपिआर संशोधन गर्न परेको कारण निर्माण कार्यपछि धकेलिएको थियो। यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ।

बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ। बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.