|

विराटनगर : लगातारको वर्षाका कारण आएको बाढीले मोरङमा ४ सय ७० घर परिवारका १९ सय ५० जना विस्थापित भएका छन्। विस्थापित हुने अधिकांश खोला किनारमा बसोबार गर्ने सुकुम्बासी घर परिवार रहेका छन्।

विस्थापित परिवारलाई स्थानीय जनप्रतिनिधि र जिल्ला प्रशासन कार्यालय मोरङको सहयोगमा सुरक्षित स्थानमा राखिएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए।

केसीका अनुसार बाढीका कारण सबैभन्दा बढी विराटनगर महानगरपालिका वडा नम्बर १, ८, ६ र १६ प्रभावित बनेको छ। साथै जहदा गाउँपालिका ८, कटहरी गाउँपालिका ४ र धनपालथान गाउँपालिकाको ४ र ५ नम्बर वडाका घर डुवानमा परेका छन्।  विस्थापितलाई रेडक्रसको सहयोगमा १ सय बढी त्रिपाल वितरण गरिएको उनले जानकारी दिए। प्रशासन कार्यालयले उद्धार, खोज तथा विपद्‍मा परेकालाई सुरक्षित स्थानमा लैजाने काम भइरहेको पनि जनाएको छ।

स्थानीय त्रसित

घरभित्र पानी पसेपछि स्थानीय त्रसित बनेका छन्। घरमा पानी पसेपछि खान बस्न समस्या भएको कटहरी ४ की सरोदेवी शर्माले गुनासो गरिन्। ‘घरभित्र सबै पानी पसेको छ, खाना पकाउने र बस्न सक्ने अवस्था छैन्,’ उनले भनिन्, ‘दिनभरी त सबैतिर पानी पानी रमिता हेर्दै बित्छ तर राति के गर्ने?’

कटहरी गाउँपालिका ४ स्थित भगवती टोल, फुलटोल मदुरा र गन्नु टोल बढी प्रभावित भएको जागरुक मिसन युवा क्लब कटहरी ४ का अध्यक्ष विनोद सिंहले बताए। फुलटोल मदुरामा मात्रै १ सय २ घर बाढीले गर्दा विस्थापित बनेको सिंहले बताए।

कटहरी ४ नम्बर वडामा मात्रै  २ सय बढी घर बाढीले प्रभावित बनेको वडा अध्यक्ष मन्टु सेखले बताए। घरभित्र पानी पसेका कारण खाना पकाउन समस्या देखिएपछि चिउरा, भुजा र चाउचाउ राहत वितरण गरिएको उनले बजानकारी दिए।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रंगेली–कानेपोखरी सडक खण्डको कानेपोखरी २ को गेउरिया खोलामा हिजोदेखि बेपत्ता भएका एक व्यक्ति अझै फेला पर्न सकेको छैन।

अन्दाजी २५/३० वर्षका युवा खोला तर्ने क्रममा खोलाले मोटरसाइकलसहित बगाएको थियो। उनको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ। यस्तै उर्लाबारीमा घाँसको भारीसहित खोलाले बगाएकी एक महिलालाई प्रहरीले उद्धार गरेको छ।

सचेत रहन आग्रह

प्रमुख जिल्ला अधिकारी केसीले मोरङका बक्राहा, लोहन्द्रा, सिंघीया र केसलीया खोलामा पानीको बहाब बढेकाले सम्पूर्ण सुरक्षा निकाय र जनप्रतिनिधिलाई सचेत रहन निर्देशन गरिएको जानकारी दिए।  जिल्ला विपद् व्यवस्थापन समिति मोरङले १७ वटै स्थानीय तहलाई सचेत गराएको उनले बताए। 

हरेक स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन भएको  र सबैले विपद् व्यवस्थापन कोष खडा गरेर तत्काल राहात र क्षतिपूर्तीको प्रवन्ध गर्नसक्ने अवस्था सृजना गरेका छन्। सबैसँग सरदर करोडको हाराहारीमा विपद् व्यवस्थापन कोष रहेको प्रजिअ केसीले बताए।

एक सय हेक्टर तरकारी खेती डुवान

लोहन्द्रा खोला र जुडि खोलाका कारण तरकारीको पकेट क्षेत्र कटहरी गाउ“पालिकामा लगाइएको तरकारी खेतिसमेत डुवानमा परेको छ। बाढीका कारण प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत कटहरीमा लगाइएको एक सय १० हेक्टर क्षेत्रफलमा लगाइएको तरकारी खेति डुवानमा परेको किसान कोपिन्द्र सिंहले बताए।

एक सय ४० जना किसानहरुको सहभागिता रहेको तरकारी ब्लकमा घिरौला, कांक्रा, भिन्डी, बोढी, भन्टा, लौका, करेला लगायतका तरकारी डुवानमा परेको सिंहले बताए । लगभग तिन फिट पानी जमेको बताउँदै उनले घाम लागेपछि तरकारीका बोटको जरा मर्ने भएकाले डुवान भएका लगभग ९० प्रतिशत तरकारी खेति नष्ट हुने बताए।

जहदा गाउँपालिका ४ का नन्दकिसोर मरण्डीको १० कठ्ठामा लगाइएको भन्टा, ६ कठ्ठा कांक्रा, ६ कठ्ठा बोढी र ४ कठ्ठामा लगाइएको घिरौला डुवानमा परेको बताए । लोहन्द्रा र जुडि खोलाको पानी खेतमा पसेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.