|

डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकाले आफ्नै लगानीमा सार्वजनिक यातायात सञ्चालनमा ल्याएको छ। 

दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात वटा स्थानीय तह रहेको डडेल्धुरामा पहिलो पटक अजयमेरुले आफ्नै लगानीमा सार्वजनिक यातायात सञ्चालनमा ल्याएको हो। गत आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रमअनुसार नै गाउँपालिकाले यातायात सेवा सुरु गरेको गाउँपालिकाका अध्यक्ष उमेशप्रशाद भट्ट (विकास) ले जानकारी दिए।

गाउँपालिकाकामा सवारी साधन नचल्दा स्थानीयहरुले निकै सास्ती खेप्नु परेको थियो। वडादेखि गाउँपालिका केन्द्र भद्रपुर र डडेल्धुरा सदरमुकाममाबाट आवतजावत गर्न समस्या हुने गरेकोमा अब त्यसको अन्त्य हुने अध्यक्ष भट्टको भनाइ छ। ‘नीति तथा कार्यक्रमअनुसार नै गाउँपालिकाले यातायात सेवा सुरु गरेको हो।’

अध्यक्ष भट्टले भने,‘गाडी सञ्चालनमा ल्याएसँगै वडादेखि गाउँपालिका केन्द्र भद्रपुर र डडेल्धुरा सदरमुकाममाबाट आवतजावत गर्न समस्या हुने गरेकोमा अब त्यसको अन्त्य भएको छ।’ गाउँपालिकामा सवारीको पहुँच नहुँदा स्थानीयले समस्या झेलिरहेका थिए।

गाउँपालिकामा उत्पादन गरेको तरकारीलगायतका अन्न बाली बेच्न र बिरामी घण्टौं हिँडेर स्थानीय जिल्ला सदरमुकाम पुग्ने गरेका थिए। स्थानीयले झेलिरहेका समस्यालाई मध्यनजर गर्दै दुई वटा गाडी खरिद गरि संञ्चालनमा ल्याइएको अध्यक्ष भट्टले बताए। 

गाडी खरिदमा गाउँपालिकाले ६८ लाख ६० हजार रुपैयाँ खर्च गरेको अजयमेरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज पौडेलले जानकारी दिए। गाउँ पालिकाले आफ्नै लगानीमा गाडि खरिद गरेपछि गाउँमै यातायातको सुविधा पाएपछि स्थानीयले बल्ल सिंहदरबारको अधिकार गाउँमा आएको अनुभूति गरेको बताउँछन्।

अजयमेरु गाउँपालिका केन्द्रबाट टाढा रहेका वडा नम्बर १ समैजीको खतेडा र वडा नम्बर ६ राजुलबाट हरेक दिन बिहान गाडी छुट्ने गाउँपालिकाले जनाएको छ। गाडीको भाडा केही दिनमै निर्धारण गरिने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.