|

बैतडी : मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका सुर्नया गाउँपालिका १ का वडा अध्यक्ष कलशबहादुर चन्दको परिवारलाई गाउँपालिकाले सहयोग गर्ने भएको छ।

सुर्नया गाउँकार्यपाालिकाको शुक्रबार बसेको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै किरिया खर्च बापत १ लाख रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय भएको अध्यक्ष बीरबहादुर बिष्टले जानकारी दिए। यस्तै परिवारिक भरणपोषणका लागि  १० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने पनि बैठकले निर्णय गरेको छ।

अध्यक्ष चन्दको निधनले गाउँपालिकालाई अपुरणीय क्षति भएको र उनको योगदानको गाउँपालिकाले सधैं सम्मान गर्ने पनि अध्यक्ष बिष्टले बताए। सुर्नया गाउँकार्यपालिकाको एक दरिलो खम्बा गुमाउँदा आफूलाई निकै असहज महसुस भएको समेत गाउँपालिका अध्यक्ष बिष्टले बताए। यसैबीच मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका बैतडीको सुर्नया गाउँपालिका १ वडा अध्यक्ष कलशबहादुर चन्दको आज अन्तिम दाहसंस्कार गरिएको छ।

पाटनको तिपडाघाटमा अध्यक्ष चन्दको दाहसंस्कार गरिएको हो। दाहसंस्कार गर्नुअघि चन्दको पार्थिव शरीरमा निर्माण व्यवसायी संघ र नेपाली कांग्रेसको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको थियो। बैतडीको सुर्नया गाउँपालिका १ हटैराज घर भएका ५० वर्षीय चन्दको बिहीबार सतबाँझनजिक मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो। 

वि स २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट चन्द सुर्नया गाउँपालिका १ को अध्यक्षमा निर्वाचित थिए। स्वर्गीय चन्दका श्रीमतीसहित एक छोरा र एक छोरी रहेका छन्। चन्द निर्माण व्यवसायी संघ बैतडीको निवर्तमान अध्यक्ष समेत थिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.