|

डडेल्धुरा : डडेल्धुरा सदरमुकामा रहेको अमरगढी किल्लामा तालाबन्दी गरिएको छ। अमरगढी नगरपालिका ५ मा रहेको ऐतिहासिक पर्यटकीय स्थल अमरगढी किल्लामा किल्ला पर्यटन पूर्वाधार क्षेत्र विकास समितिले तालाबन्दी गरेको हो। केही दिन अघिदेखि अमरगढी किल्ला प्रवेश गेटमा ताला लगाइएको हो। 

किन लगाइयो किल्लामा ताला?

समुद्री सतहबाट लगभग ६ हजार ५०० फिट उचाइमा रहेको अमरगढी किल्ला नेपाल एकीकरणका बेला बडाकाजी अमरसिंह थापाद्वारा किल्लाको निर्माण गरिएको थियो। अमरगढी किल्लाभित्र सैनिकका लागि २२ वटा गुफा बनाइएको छ। त्यस्तै, युद्ध छल्न तथा सफलताका लागि शस्त्रनिरोध मार्ग निर्माण गरिएको छ।

 

अमरगढी किल्ला पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको थियो। नगरपालिकाले सर्वसाधारणका लागि यो किल्ला खुला गरेको थियो। अमरगढी किल्लाको ऐतिहासिक र धार्मिक महत्व छ। डडेल्धुरा घुम्न आउने पर्यटकको पहिलो रोजाइमा किल्ला नै पर्छ। तर, केही दिनयतादेखि अमरगढी किल्ला पर्यटन पूर्वाधार क्षेत्र विकास समितिले तालाबन्दी गरेको छ। 

अमरगढी सरकारले गरेको ढिलासुस्तीका कारण किल्लाका लागि आएको बजेट फ्रिज गएपछि ताला लगाएको अमरगढी किल्ला पर्यटन पूर्वाधार क्षेत्र विकास समितिका अध्यक्ष प्रवीण जैरुले बताए। 

अमरगढी किल्लाको पुनर्निमाणका लागि असारदेखि काम शुरु गरेको भए पनि अमरगढी नगरपालिकाले कामको मूल्यांकन नगरी पेश्कीस्वरुप दुई लाख रुपैयाँ मात्रै दिएर बाँकी रकम फ्रिज हाल्ने काम गरेकाले किल्लामा तालाबन्दी गर्न बाध्य भएको उनको भनाइ छ।

‘पुनर्निमाणका लागि पुरातत्व विभागबाट गत पुसमा पैसा आएको थियो। आएको पैसा किल्लामा लगाउनुपर्छ भनेर कार्यपालिकाबाट कुनै निर्णय गरिएन। हामीले काम गर्नुपर्छ भनेर ‘व्याकडेट’ राखेर जेठ ३० गते सम्झौता गर्‍याै’ अध्यक्ष जैरुले भने,‘त्यसपछि असारबाट हामीले काम शुरु गर्‍याै।

नगरपालिकाले कामको मूल्यांकन नगरी पेश्कीस्वरुप दुई लाख रुपैयाँ मात्रै दिएर बाँकी रकम फ्रिज हाल्ने काम गरेकाले किल्लामा ताला लगाएका हौँ।’ उनको अनुसार पुनर्निमाणका लागि पुरातत्व विभागबाट अमरगढी किल्लाका लागि २५ लाख रुपैयाँ आएको थियो।

‘अमरगढीको कार्यपालिकाको टीमले अमरगढी किल्लामा आएको पुनर्निमाणको सही मूल्याकंन गरेर त्यहाँको पैसा दिनुपर्छ। त्यसपछि मात्रै किल्लामा लगाएको ताला खोल्छौं’ उनले भने,‘त्यहाँका टिकट वाफत उठेको राजश्व नगरपालिकाको खातामा जान्छ। राजश्व उठाएवाफत अमरगढी किल्लामा गर्नुपर्ने काम अमरगढी सरकारले केही गरेको छैन।’

के भन्छन् स्थानीय सरकारका प्रमुख?

अमरगढी नगरपालिकाले भने किल्लामा आएको बजेट फ्रिज जानुमा नगरपालिका दोषी नभएको जनाएको छ। पुरातत्व विभागले काम चाँडै गर्न अनुमति नदिनुलगायतका कारणले समस्या भएको अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले जानकारी दिए। ‘पुरातत्व विभागले काम गर्नको लागि समयमै अनुमति नदिनु, कार्यपालिकामा त्यसका बारेमा विवाद भइराख्नुले ढिलो भएको हो।’ गत वर्ष सरकारले छनोट गरेका १०० नयाँ पर्यटकीय गन्तव्यमा ‘अमरगढी किल्ला’ पनि परेको थियो। 

ऐतिहासिक अमरगढी किल्लामा तालाबन्दी भएपछि किल्ला घुम्न आउने पर्यटक समस्यामा परेका छन्। पछिल्लो समय यहाँ छिमेकी जिल्ला बैतडी, दार्चुला, डोटी, बझाङका साथै कैलाली, कञ्चनपुरबाट समेत घुम्नका लागि पर्यटक आउँथे। विषेश गरी सुदूरपश्चिम प्रदेशका विभिन्न विद्यालय, कलेजले विद्यार्थीलाई अमरगढी किल्ला घुमाउन ल्याउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.