स्थानीय सरकार भन्छ- प्राथमिकता सडकमै हो

|

सिन्धुपाल्चोक : वर्षाको समय सुरु भएपछि कच्ची सडकमा बग्रेली समस्या हुन थाल्छ। पानी परेपछि सडकको बीचबीच भागमै पानीको पोखरी जस्तो देखिनु सामान्यजस्तै भइसक्यो। जुन परम्परागत प्रचलनको जस्तै भइसक्यो। घाम लागे धुलो, पानी परे हिलो जुन समस्याले आजित छन् सर्वसाधारण।

तर, सडकमा लगानी घटेको छैन। पहिलैदेखि विकासको प्रमुख आधार सडकलाई लिएर बजेट विनियोजना हुने गरेको थियो। अहिले स्थानीय सरकार आएको दुई वर्ष पूरा भइसक्दासमेत सडकमा लगानी घटेको छैन। सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम र बजेट ल्याइसकेका छन्। स्थानीय तहले पनि आफ्नो पहिलो प्राथामिकता सडक निर्माणमा  खर्चेका छन्।

तर, सडकमा वर्षौंदेखि करोडौँ लगानी गर्ने गरेको भए पनि सडकको अवस्था फेरिन सकेको छैन। सिन्धुपाल्चोक जिल्लाभित्र पर्ने अधिकांश सडक कच्ची रहेको छ। जसले गर्दा वर्षामास सुरु हुन नपाउँदै सडक बन्द नै हुने गरेको छ। वर्षौदेखि करोडौँ लगानी पर्दै आएको सडकको लगानी बालुवामा पानी खन्याए सो सरह भएको छ। ग्रामीण क्षेत्रमा निर्माण हुने सडकको मापदण्डविपरित भएका हुन्छन्। जसले गर्दा जोखिम ज्यादा हुने गरेको छ। डोजरको अप्रेटर आफैँले इञ्जिनियरको रूपमा काम गर्ने गरेका छन्।

पानी परे कच्ची सडकमा समस्या

बार्खा सुरु भएपछि सिन्धुपाल्चोकका सबैजसो कच्ची सडक बन्द भएका छन् । पानी परेपछि पहिरो र हिलोकै कारणले सडक बन्द भएको हो। ग्रामीण सडक बन्द भएपछि सर्वसाधारण मारमा परेका छन्। पहिरो र हिलोका कारण कच्ची शाखा सडकमा सवारी सञ्चालन बन्द भएको हो । संघीय राजधानी काठमाडौंबाट छुटेका यात्रुवाहक बस पानी परेपछि सदरमुकाम चौतारा, बाह्रबिसे, मेलम्ची र जलवीरेसम्म मात्रै पुग्ने गरेको छ। चौतारा, बाह्रबीसे, मेलम्ची बजारबाट ग्रामीण क्षेत्रमा बाहिरीने यात्रुबाहक वर्ष अत्यधिक वर्षापछि जान सक्ने अवस्था नरहेको अरनिको बस सेवा समितिले जनाएको छ।

ग्रामीण भेगका कच्ची सडकमा पहिरो र हिलोका कारण गाडी सञ्चालन गर्नै सकिने अवस्था छैन। सडक निर्माणमा सरकारी प्रणली नै गम्भीर भएर काम नगर्नाले यस्तो अवस्थाको सिर्जना भएको हो। सिन्धुपाल्चोक जिल्लामा भूकम्पपछि पुननिर्माणको लागि घरघरमा सडक पुर्‍याएका छन्। जुन सडक पानी परेपछि सडकको चित्र मात्रै बाँकी रहेको छ।

यो पनि पढ्नुस्

सिन्धुपाल्चोकको ठूलो नगरपालिका चौतारा साँगाचोकगढी नगरपालिकाभित्र ९५ प्रतिशत घरमा सडक पुगेको नगरप्रमुख अमानसिं तामाङको दाबी छ। तर, ग्रामीण क्षेत्रमा निर्माण भएका सडकमा कम्ती बिजोक छैन। 

चौतारा बजार हुँदै जाने ग्रामीण शाखा सडक स्याउले, सेलाङ र बतासेमा जाने यातायातको साधन बन्द भइसकेको छ। मेलम्ची खानेपानी आयोजनाले निर्माण गरेको मेलम्ची–तिम्बु सडकमा भने ठूलो झरी परेको समयमा मात्रै बस सेवा स्थगित गर्ने गरिएको छ। हेलम्बु र आमा ह्योल्मो समितिका बस सञ्चालकले सडकको दुरावस्थाकै कारण यात्रुलाई सेवा दिन नसकिएको जनाएका छन्।

बाह्रबिसेबाट लिस्ती, मानेश्वारा, राम्चे, धुस्कुन र भोटेकोसी गाउँपालिकाको विभिन्न गाउँमा पुग्ने शाखा सडक अवरुद्ध छ । मुढे हुँदै सुनकोसी पारि पुग्ने सडक पनि बन्द छ। जलवीरे आसपासका क्षेत्रबाट अन्यन्त्र जाने सडक पनि प्राय बन्द छन्।

सडकको लगानी बालुवामा पानी

ग्रामीण सडकका लागि सरकारले बर्सेनी करोडौँ रकम लगानी गर्ने गरेको छ। अहिले पनि नगर र गाउँपालिकाले सडकका लागि करोडौँ रकम खर्च गरिरहेका छन्। तर, सडकको दुरावस्था सधैँ उस्तै छ ।

जिल्लाका सबै शाखा सडककमा ढलको व्यवस्था छैन। विकासको पुर्वाधारको रूपमा सडकलाई लिने गरिन्छ। हुन पनी यातायातको पहुँचमा रहेका समुदायको स्तरोन्नति भएको पाइन्छ। जिल्लाको समृद्धिको लागी सडक धेरै आवश्यक छ।

जिल्लाको विकट बस्तीसँग सहर जोड्न एकमात्र माध्यम सडक नै हो। सिन्धुपाल्चोक जिल्ला भौगोलिक विकटता भएपनी सडकको करण जिवनयापनमा सरल र सहज भएको छ। अधिकांश स्थानीय तहले सडकलाई प्राथमिकता दिँदै बजेट केन्द्रीत गरेका छन । ठूलाबजार रहेका स्थानदेखि ग्रामीण बस्तीलाई जोड्न सडक बनाउने क्रम सिन्धुपाल्चोकमा धमाधम छ । जिल्लाका अधिकांश स्थानमा सडक पुर्‍याउने काम तीव्ररुपमा विकास भएको छ। सोही अनुरूपको विकास बजेट पनि सडकमै प्रयोग गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.