|

पोखरा : पोखरा महानगरपालिकाका वडा कार्यालय चोरी हुने क्रम बढेको छ। २०७५ साल जेठ ३ गते वडा नम्बर १२ बाट सुरु भएको चोरी हुने क्रम अझै रोकिएको छैन।

सोमबार राति मात्रै वडा नम्बर ६ को दुईवटा कम्प्युटर चोरी भएको छ। अहिलेसम्म नौ वटा वडा कार्यालयबाट कम्प्युटर चोरी भइसकेका छन्। सबै वडा कार्यालयमा विभिन्‍न तथ्यांकको अभिलेख राखिने कम्प्युटर चोरी भएको पोखरा महानगरले जनाएको छ।

कुन कार्यालयमा कहिले चोरी भए

२०७५ जेठ ३ गते पोखरा–१२

२०७५ माघ नौ गते पोखरा–५

२०७५  फागुन २३ गते पोखरा–१३

२०७५ पुस १ पोखरा–१४ 

२०७५ चैत १० गते पोखरा–१६

२०७५ पुस १६ गते पोखरा–२९ 

२०७६ असार १३  गते पोखरा–२५

२०७६ जेठ ६ गते पोखरा– ३१ 

२०७६ साउन २० गते पोखरा–६

वडा कार्यालयबाट डेस्कटप, ल्यापटपलगायत अन्य कागजपत्र पनि चोरिएका छन्। वडा कार्यालय नै निशाना बनाएर चोरी गर्ने गिरोह अझै प्रहरी फन्दामा पर्न सकेको छैन। पोखरा महानगरका भण्डार शाखाका किरण कोइराला वडा कार्यालय चोरीमा गिरोह नै संलग्न रहेको बताउँछन्।

‘यसमा चोर्ने र किन्‍ने दुवै गिरोह हुनुपर्छ,’ उनले भने, ‘चोरीको प्रकृति उस्तै छ। सबैले कम्प्युटर नै चोर्ने भएपछि यसमा चोर्ने र किन्‍ने दुवै समूह हुनुपर्छ।’

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसी वडा कार्यालय तोडफोडको छानबिन गरिरहेको बताउँछन्। ‘हामी अनुसन्धानमै छौँ,’ उनले भने, ‘ढिलोचाँडो हामी चोरी गर्नेलाई नियन्त्रण लिएरै छोड्छौँ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.