|

पर्वत:  तुरतुरे ताल फुटेर गएको बाढीले बगाएको पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङखण्डमा अवरुद्ध सडक सञ्चालनमा आउन करीब तीन हप्ता लाग्ने भएको छ। यस्तै पर्वत खण्डमा रोकिएको सडक विस्तारको काम छिट्टै सुचारु गरिने जनाइएको छ। 
 

बागलुङको बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा रहेको तुरतुरे ताल फुट्दा सोमबार मध्यपहाडी लोकमार्गको दुई सय मिटर सडक बगाएको थियो। सडकमा नयाँ ट्र्याक खोल्न करीब तीन हप्ता लाग्ने अनुमान गरिएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ। 

बाढीले बगाएको क्षेत्रमा नयाँ ट्र्याक खेल्नुपर्ने भएकाले आगामी भदौ ५ गतेसम्म सडक सुचारु गर्न सकिने आयोजना कार्यालयका प्रमुख आशिष थापा मगरले बताए।   पहिरो र बाढीले बगाएको सडक भन्दा १० मिटर माथिबाट नयाँ ट्र्याक खोल्ने काम शुरु गरिएको छ। उनले भन्नुभयो, “ट्र्याक खोल्ने ठाउँमा ठूलो ढुङ्गाको चट्टान भएकाले थप केही समय पनि लाग्न सक्छ, तत्कालका लागि अस्थायी ट्र्याक खोल्ने र पछि पुरानै ठाउँबाट सडक सञ्चालन गर्ने योजना छ।”

सदरमुकाम बागलुङ बजारदेखि ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिकासम्मको सिधा सडक सम्पर्क टुटेको छ। पश्चिमको व्यापारिक केन्द्र बुर्तिवाङबाट छोटो तथा लामो दूरीमा चल्ने सवारी साधन ठप्प छन्। सदरमुकामसँगै पोखरा, बुटवल, काठमाडौँबाट पश्चिम जाने सवारी साधन बडीगाड गाउँपालिका–७ घोपर्नासम्म मात्रै पुग्ने गरेका छन्। 

यसैगरी लोकमार्गको पर्वत खण्डमा दुई महीनादेखि रोकिएको सडक स्तरोन्नतिको काम पनि भदौको पहिलो सातादेखि पूर्णरुपमा सुचारु हुने भएको छ।  असारपछि रोकिएको विस्तारको काम सुचारु गर्ने तथा तत्काल खाल्डा पुर्ने र अत्यावश्यक ठाउँमा मर्मतलगायतका काम शुरु गरिएको प्रमुख थापा मगरले बताए। 

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डको काम झन्डै ५० प्रतिशत सकिएको छ। सडकको यस आर्थिक वर्षसम्ममा ७० प्रतिशत काम गर्ने लक्ष्य लिएको भए पनि सोचे अनुसारको प्रगति हुन नसकेको हो। आयोजनाका प्रमुख थापामगरले ७० प्रतिशतभन्दा बढी काम सम्पन्न गर्ने लक्ष्य राखेको भए पनि सोचे अनुसारको काम हुन नसकेको बताए। सडकको काम २०७४ चैत महिनादेखि सुरु भएको थियो।

सडकको काम रोकिएर प्रगति नभएपछि प्रतिनिधिसभाको शून्य समयमा बोल्दै पर्वतबाट निर्वा्चित सांसद पदम गिरीले सडकमा रहेका खाल्डाखुल्डी र पहिरो झर्ने खतराका कारण रोकिएको काम तत्काल सुरु गर्न माग गरेका थिए। उनले बैठकमा ध्यानाकर्षण गराउँदै निर्माण कम्पनीले निर्माण कार्य अवरुद्ध पारेकोमा आपत्ति जनाउँदै यस्ता कम्पनीलाई कारबाहीको समेत माग गरेका थिए।

आयोजनाको पर्वतको प्रवेशद्वार देखि मालढुंगा सम्मको २३ दशमलव ७६९ किलोमिटर स्तरउन्नतीको काम लामा कन्सट्रक्सन प्रा।लि।ले जिम्मा लिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.