|

रसुवा : पासाङल्हामु मार्गको धुन्चे–स्याफ्रुबेशी सडकखण्डमा जीर्ण सडक मर्मत सुरु गरिएको छ। जीर्ण सडकमा जोखिम मोलेरै सवारीसाधन सञ्चालन भइरहेको र सवारी सञ्चालनमा कठिनाई भएको चौतर्फी गुनासो बढेपछि सडक मर्मत सुरु गरिएको हो। 

आइतबार धुन्चे–स्याफ्रुबेशी सडकखण्डको खोपाङ भीरमा सोयलिङका लागि सशस्त्र प्रहरी र सडकका कर्मचारी खटिएका छन्। नौ जना सशस्त्र प्रहरी र पाँच जना सडक डिभिजन कार्यालयका कर्मचारी परिचालन गरी सोयलिङ गर्ने काम सुरु गरिएको छ। त्यसका लागि गोसाइकुण्ड गाउँपालिकाले एउटा ट्रक उपलब्ध गराएको छ।

स्याउबारीदेखि स्याफ्रुसम्मको सडकखण्डमा दर्जनौं ठाउँमा खाल्टाखुल्टी  परेको छ। आइतबार खोपाङ भीरको उकालोमा १५ मिटर रक सोयलिङ गरिएको छ। त्यस्तै, सोमबार बिहानदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र सडक डिभिजनका कर्मचारीसहित करिब ३० जना खटाई सडक मर्मत गरिने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। 

गत साउन २१ देखि जीर्ण तथा खाल्टाखुल्टी सडक मर्मत सुरु गरिएको भने पनि हालसम्म सुरु हुन सकेको थिएन। विगतका वर्षहरुमा पनि सेना प्रहरी परिचालन गरेर असहज भएको सडक मर्मत गरिँदै आइएको थियो। 

हिउँदको समयमा काम नगर्ने र वर्षाको समयमा मात्रै काम गर्ने प्रचलन अहिले पनि दोहोरिएको सवारी चालकहरुले गुनासो गरेका छन्। धेरै बिग्रिएको स्थानमा मात्रै सुरक्षाकर्मी परिचालन गरेर काम गरिने र बाँकी स्थानमा सडक डिभिजन कार्यालयले गर्ने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। चीनसँगको अन्तर्राष्ट्रिय व्यापारीक नाका जोड्ने सडक भए पनि संघीय सरकारबाटबाट कम बजेट आउँदा आवश्यकता भएको ठाउँमा पनि सडक सुधारको काम गर्न नसकिएको सडक डिभिजन कार्यालय नुवाकोटका डिभिजन प्रमुख निरज शाक्यले बताए।

चीनबाट नेपालतर्फ आयात तथा निर्यात हुने सामानहरु यही सडकखण्ड हुँदै ढुवानी गरिन्छ। रसुवागढी नाका हुँदै आउने तथा सदरमुकाम धुन्चे हुँदै जाने ठूला मालवाहक सवारीसाधन, निमार्णाधीन जलविद्युत् आयोजनाहरुको निर्माण सामग्री सडक हुँदै जोखिम मोलेरै लाने ल्याउने गरेका छन्।  सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि रसुवागढी नाका हुँदै सामान आयात भइरहेको छ। 

भारतले लगाएको नाकाबन्दीपछि पासाङल्हामु मार्ग स्तरोन्नति गर्ने भन्दै धेरै मन्त्रीहरु रसुवागढी नाकासम्म पुगेर अनुगमन गर्ने गरेका थिए। सडक स्तरोन्नति गर्ने र ठाउँठाउँमा गाडीलाई साइड दिनका लागि तत्काल पासिङ जोन बनाउने योजना समेत सार्वजनिक गरिएको थियो। तर, सडकको अवस्था भने जस्ताको त्यस्तै छ।

पासाङल्हामु सडकखण्ड मर्मतसम्भार नहुँदा दिनदिनै जीर्ण हुँदै गएको छ। तर सम्बन्धित निकाय भने मौन रहेको पाइन्छ। तर सडक डिभिजन कार्यालय भने पर्याप्त बजेट नआएको हुँदा मर्मतसम्भार हुन नसकेको भन्दै पन्छिदै आएको छ। त्यस्तै, जिल्लामा सडकको कार्यालय समेत छैन। नुवाकोटमा रहेको सडक डिभिजन कार्यालयले यस सडक हेर्दै आएको छ। 

२०४२ सालमा सदरमुकाम धुन्चेसम्म सडक सञ्चालनमा आएको थियो। त्यसको दुई वर्षपछि स्याफ्रुसम्म सडक निर्माण भएको थियो। २०६७ सालमा चीन सरकारको सहयोगमा रसुवागढी नाकासम्म सडकले जोडिएको हो। 

एसियाली विकास बैंकको १ अर्ब ५० करोड रुपैयाँ ऋण सहयोगमा २०७० सालमा स्याफ्रुसम्म कालोपत्रे गरिएको थियो। कालोपत्रे गर्नका लागि करिब ४ वर्ष लागेको थियो। पहिरो गएको क्षेत्र राम्चे तथा मूलखर्क क्षेत्रमा कालोपत्रे गरिएको थिएन। बेत्रावतीदेखि राम्चेसम्म रसुवा कन्स्ट्रक्सन र राम्चेदेखि स्यापु्रmबँेसीसम्म कालिका कन्स्ट्रक्सनले कालोपत्रे गर्ने जिम्मा लिएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.