|

काठमाडौं : पूर्वमुमा बडामहारानी रत्नराज्य लक्ष्मीदेवी शाह आजदेखि ९२ औं वर्षमा लागेकी छन्। हाल विदेश भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्रले उनको जन्मोत्सवमा ट्विटरमार्फत शुभकामना दिएका छन्।

उनको शुभकामना सन्देशमा मुमा रत्न असाधारण जीवन र धेरै वर्षदेखि चम्किलो उदाहरण भएको जनाइएको छ । प्रथम पत्नी इन्द्रराज्य लक्ष्मीको प्रसव व्यथाले मृत्यु भएपछि रत्नलाई राजा महेन्द्रले दोस्रो पत्नीका रूपमा विवाह गरेका थिए। 

रत्नतर्फ सन्तान नभए पनि इन्द्रतर्फका तीन छोरा र तीन छोरीकी आमा बनेर जीवन बिताउँदै आएकी छन्। आफ्नो तर्फबाट सन्तान नभए पनि बालहित र संरक्षणमा विशेष चासो राख्ने भएकाले अनाथालय र बालमन्दिरहरूको प्रबर्द्धन तथा संरक्षणमा लागेकाले उनको जन्मदिनलाई बाल दिवसका रूपमा मनाउने गरिन्थ्यो ।राजतन्त्र रहुन्जेल यो परम्परा कायम थियो।

वि सं १९८५ भदौ ०४ गते काठमाडौंमा जन्मेकी रत्न २०११ देखि २०२८ सम्म नेपालको बडामहारानी तथा २०२८ देखि २०६५ सम्म मुमाबडामहारानीका रूपमा रहेकी थिइन्।

राजसंस्थाको अवसानपछि तत्कालीन राजपरिवारका सदस्यहरू अन्यत्र सरे पनि रत्नले नारायणहिटी दरबार परिसरको एउटा कुनामा रहेको महेन्द्र मञ्जिलमै जीवन बिताउने चाहना राखेपछि उनी केही सहयोगी साथ त्यहीँ बस्दै आएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.