|

धनगढी : सरुवा भएका चिकित्सकको पदस्थापन रोकिए पनि यहाँका ठूला अस्पताल तत्काल चिकित्सकविहीन नहुने भएका छन्। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सरुवा भएर गएका कर्मचारीको पदस्थापन संघीय सरकारले दुई महिनाका लागि रोकेको जनाएको छ।

सरुवाले यहाँका दुई ठूला अस्पताल महाकाली र सेती प्रादेशिक अस्पताल चिकित्सकविहीन हुने अवस्थामा पुगेका थिए। प्रदेश मातहत रहेका महाकाली र सेतीसहित अन्य अस्पतालमा कार्यरत चिकित्सकले संघीय सरकार मातहतका अस्पताल रोजेपछि सरुवाले अस्पतालहरु जनशक्तिविहीन बन्न लागेका थिए।

सामाजिक विकास मन्त्रालयका निमित्त सचिव झंकरबहादुर विष्टले सरुवा भएका चिकित्सकलाई दुई महिना यथाअवस्थामै काम गर्न संघीय स्वास्थ्य मन्त्रालयले पत्र पठाएको बताए। मुलुकभर डेङ्गु, स्क्रब टाइफसलगायत रोगको संक्रमण बढेका बेला चिकित्सकको सरुवाले कतिपय अस्पताल जनशक्ति विहिन बन्न थालेपछि संघीय सरकारले पदस्थापन केही समयका लागि रोकेको हो।

  सरुवा भएका कर्मचारीको पदस्थापन हुञ्जेलसम्म प्रदेश सरकारले नयाँ जनशक्ति भर्ना गरिसक्ने निमित्त सचिव बिष्टले दावी गरे। ‘तत्कालका लागि पदस्थापन रोकिएको छ। अब पदस्थापन हुँदासम्म प्रदेश सरकारले करारमा भए पनि चिकित्सकीय जनशक्ति भर्ना गर्छ।’ बिष्टले भने, ‘प्रदेश मातहतका अस्पतालहरु चिकित्सकविहीन हुन दिँदैनौं।’

 प्रदेशको सबैभन्दा ठूलो सेती प्रादेशिक अस्पतालममा २२ जनाको विशेषज्ञ चिकित्सकको दरबन्दी छ। तर हाल ११ जनामात्रै कार्यरत छन्। सरुवाले ११ जना कार्यरत डाक्टरमध्ये ३ जनामात्र रहने अवस्था थियो। सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिपकुमार श्रेष्ठले पदस्थापन रोकिएकाले अस्पताल केही समयका लागि चिकित्सकविहीन नहुने बताए।

उनले भने, ‘अस्पताल डाक्टरविहिन हुन लागेको थियो तर तत्काल पदस्थापन रोकिएको पत्र आएपछि केही समयका लागि भए पनि डाक्टरविहिन हुँदैन।’ अर्को पत्र नआएसम्म पदस्थापन नहुने भन्ने परिपत्र मन्त्रालयबाट आएको उनले जानकारी दिए।

तत्कालीन महाकाली र सेती अञ्चल अस्पताल तथा जिल्ला अस्पतालहरु अहिले प्रदेश सरकार मातहत आएका छन्। महाकाली र सेती अञ्चल अस्पल अस्पताललाई प्रदेश सरकारले प्रादेशिक अस्पतालमा रूपान्तरण गरेको छ।

 प्रादेशिक अस्पतालमा रुपान्तरण भए पनि उपचार सेवामा भने सुधार नभएको सर्वसाधारणले गुनासो गरेका छन्। प्रदेश सरकार मातहत आएपछि सेवामा सुधार हुनुको सट्टा अस्पताल चिकित्सकविहिन हुने अवस्थामा पुगेको सेवाग्राहीको भनाइ छ।

बाजुराको गौमुल गाउँपालिकाबाट उपचारका लागि सेती प्रादेशिक अस्पताल आएका कलकबहादुर सिंहले अस्पतालमा विशेषज्ञ डाक्टरको व्यवस्था गरेर सर्वसाधारणले सहज रूपमा उपचार सुविधा पाउने व्यवस्था गर्नुपर्ने बताए। पहिलेको तुलनामा उपचार सेवामा सुधार भए पनि गुणस्तरीय उपचार सेवा अझै नपाइएको उनले बताए।

 ‘जनशक्ति र शैय्या थपेरस्तरीय सेवा दिनुपर्छ।’ उनले भने, ‘यहाँ उपचार नपाएर अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य गरिनुपर्छ।’ स्तरीय र विशेषज्ञ सेवा भएमात्र बाहिर जानुपर्ने बाध्यता हट्ने उनले बताए। आफ्नो क्षेत्रमा स्तरीय उपचार नपाएपछि यहाँका स्थानीय कोहलपुर मेडिकल कलेज, काठमाडौं तथा भारतका विभिन्न ठाउँमा उपचारका लागि जान बाध्य छन्। 

स्वास्थ्य उपचार सेवास्तरीय बनाउन गृहकार्य अगाडि बढेको प्रदेश सरकारको दाबी छ। आवश्यक जनशक्ति करारमा भर्ना गरेर भए पनि प्रादेशिक र जिल्ला अस्पतालहरूमा स्तरीय सेवा दिइने सरकारको भनाइ छ। केही अस्पतालका लागि उपचारका लागि आवश्यक पर्ने उपकरण खरिद प्रक्रिया पनि अगाडि बढेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.