|

काठमाडौं : काठमाडौं महानगरपालिकाले स्मार्ट पार्किङको शुल्क दर घटाएपछि पार्किङ महसुल कम उठने गरेको पाइएको छ। पार्किङ शुल्क घटेपछि कम्पनीले दैनिक १५ हजार उठाउँदै आएको ह्विल्स टुली एयर्स कम्पनीले जनाएको छ।

मोटरसाइकल,स्कुटरको हकमा ३० मिनेटसम्म पार्किङ गर्दा १५ रुपैयाँ र ३० मिनेट कटेपछि २५ रुपैयाँ प्रतिघण्टाको दरले लाग्छ। त्यस्तै ४ पांग्रे सवारीसाधनको हकमा ३० मिनेटसम्म पार्किङ गर्दा ५० रुपैयाँ र ३० मिनेट कटेपछि ८० रुपैयाँ लाग्छ ।

शुल्क घटेपछि सुरुवातको दिनजस्तो पार्किङ शुल्कमा राम्रो आम्दानी गर्न नसकेका कम्पनीका प्रतिनिधि विष्णु पाठकले बताए। उनका अनुसार पार्किङ शुल्क नघटदा पहिले दैनिक २५ हजार उठथ्यो। पहिलेको तुलनामा शुल्क घटेपछि दैनिक आम्दानी घटेको छ।

पार्किङ शुल्कको मूल्य कम भएपछि आशा गरेबमोजिम कम्पनीले शुल्क उठाउन नसकेको पाठकले बताए। ' मोटरसाइलकको संख्या घटदै गएको छ,' उनले भने,' अधिकांश सवारी महानगरको निशुल्क पार्किङ क्षेत्रमा लगेर राख्छन।' बिहान ९ बजेभन्दा अगाडि त शून्य सवारी हुने उनले बताए।

१ बजेपछाडि मात्र धेरै सवारीसाधन आउने उनको भनाइ छ। दशैं-तिहारको समयमा भने सवारीसाधनको चाप हुने त्यो बेलामा अरू दिनमा भन्दा बढी कमाइ हुने उनको विश्वास छ।

दैनिक ७ सय देखि ८ सय मोटर साइकल पार्किङ गर्न आउने गरेको उनको विश्वास छ। शुल्क लाग्छ भनेर अन्यत्र ग्राहकहरू अन्यत्र राखेर आउने गरेको उनको भनाइ छ। महानगरको निर्णयले कम्पनीलाई नोक्सान नभए पनि अपेक्षा गरेबमोजिम कम्पनीले आम्दानी गर्न नसकेको उनको गुनासो छ।

पार्किङमा राखेको सम्पूर्ण सवारीसाधनको सुरक्षाको ग्यारेण्टी लिने उनले बताए। अहिलेसम्म यहाँ पार्किङ गरिकन कुनै पनि सवारी साधन हरायो र क्षति भयो भनेर गुनासो गर्न नआएको उनले जानकारी दिए। एक क्षेत्रमा ५-६ जना कम्पनीको प्रतिनिधि रहने गरेको उनले जानकारी दिए।

कम्पनीले सेवा विस्तार हुँदा दुई पाङग्रे साधनको प्रतिघन्टा २५ रुपैयाँ तोकेको थियो,चारपाङग्रेको भने ६० रुपैयाँ कायम भएको थियो। स्मार्ट पार्किङको शूल्क मँहगो भयो भनेर चौतर्फी विरोध भएपछि महानगरले स्मार्ट पार्किङको शुल्क घटाएको थियो। पहिले ५ मिनेट पार्किङ गरेपनि २५ रुपैयाँ तिर्नुपर्ने व्यवस्था थियो।

महानगरले ह्विल्स टुली योर्स प्रालिसँगको सहकार्यमा न्युरोडको रामेश्वर मिठाइ पछाडिको भाग, विशाल बजार अगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडिको स्थानमा गरि ५ ठाउँमा स्मार्ट पार्किङ सुरू गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.