|
फोटो : बायाँबाट विनोद ढकाल र महेश रेग्मी

अर्जून आचार्य 

विराटनगर :  नेकपा एमाले मोरङको आठौं जिल्ला अधिवेशन पुस २५ गतेदेखि सुरु हुँदैछ। 
अधिवेशनमा वर्तमान अध्यक्ष महेश रेग्मी र पूर्वअध्यक्ष विनोद ढकाल नेतृत्व लिने होडबाजीमा छन्। अघिल्लो कार्यकालमा पनि ढकाल र रेग्मीबीच नै प्रतिस्पर्धा भएको थियो। पूर्व अध्यक्ष ढकाल थोरै मतले पराजित भए। रेग्मीले चुनाव जिते। 

अघिल्लो कार्यकालमा पराजित भएका ढकाल फेरि रेग्मीको प्रतिस्पर्धी बनेर देखा परेका छन्। ढकाललाई अध्यक्ष केपी शर्मा ओलीको साथ छ भने वरिष्ठ अध्यक्ष माधवकुमार नेपाल समूह रेग्मीको पक्षमा छ। देशकै नेतृत्व गर्ने जिल्लाको रुपमा चिनिने भएकाले मोरङको चुनावलाई ओली र नेपालले समेत प्रतिष्ठाको विषय बनाएका छन्।

दुबै पक्षका सचिवको टुंगो लागेन 
क्षेत्रगत आधारमा ८ सय २२ जना प्रतिनिधि, जिल्ला कार्यसमितिका ९१ जना र ९ जना क्षेत्रीय सभापति समेत गरेर ९ सय २२ जनाले निर्वाचनमा मत खसाल्नेछन्। 
अध्यक्ष पदमा ओली समूहबाट ढकाल र माधव नेपाल समूहबाट रेग्मी उठ्ने टुंगो लागिसकेको छ। तर यसबाहेकका प्रतिनिधिको विषयमा भने विवाद कायम छ।
ओली समूहबाट उठेका ढकालको तुलनामा पदाधिकारीको विवाद मिलाउन नेपाल समूहका रेग्मीलाई गाह्रो हुने देखिएको छ। 
जिल्ला अध्यक्ष महेश रेग्मी अहिलेकी उपसचिव विद्या चाम्लिङलाई सचिव बनाउनुपर्ने पक्षमा छन्। तर वरिष्ठ नेता माधवकुमार नेपालसहित केन्द्रिय नेताहरु लालबाबु पण्डित र जीवन घिमिरेले रुपेश खतिवडालाई सचिव बनाउनुपर्ने पक्षमा छन्। त्यसैले रेग्मी दबाबमा छन्। 
ढकाल समूहमा पनि सचिवको टुंगो लागेको छैन्। यस समूहबाट  रामलाल साह र बाबुराम कार्कीले सचिव पदमा दाबेदारी पेश गरिरहेका छन्। 

यस्तो छ दुबैको दाबी 

रेग्मी पक्षबाट डाक्टर उद्धब पोखरेलले आन्तरिक प्रतिवेदन तयार पारेका छन्। निर्वाचनमा १ सय ४६ मतले विजयी हुने रेग्मी समुहको अनुमान छ। 
सांसद् तथा वर्तमान जिल्ला सचिव ऋषिकेश पोखरेलले ढकाल समुहको आन्तरिक प्रतिवेदन तयार पारेका छन्। यो प्रतिवेदनमा उनले २ सय १ मतले ढकाल विजयी हुने उल्लेख गरेका छन्। 

ढकाल समूहका विराटनगर इन्चार्ज एवं जिल्ला सदस्य सागर थापाले पछिल्लो समयमा आफ्नो समूहको राम्रो प्रभाव देखिएको दाबी गरे।‘ग्रामीण क्षेत्रबाट निर्वाचन प्रक्रियाबाट छुट्टिएरै आफ्ना प्रतिनिधिहरु निर्वाचित भएर आएकाले ढकालले चुनाव जित्ने निश्चित भयो,’ थापाले भने,‘सर्वसाधरण नागरिककको जुनसुकै समस्या आइपर्दा पनि जुधेर लागिपर्ने र निरन्तररुपमा एकीकृत पार्टीको पक्षमा ढकाल उभिएकाले पनि उनको जित सुनिश्चित छ।’  

यता, रेग्मी पक्षका नेता वसिम आलमले रेग्मी अध्यक्ष भएको समयमा मोरङमा एमालेको प्रभाव बढेको बताए। उनले संविधानसभा निर्वाचनमा एमालेले ३ सिट जितेको र जिल्लाभर पार्टीको प्रभाव बढेका कारण रेग्मी थप एक कार्यकालका लागि अध्यक्ष बन्‍ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.