|

नेपालीको महान चाड दशैं र तिहार नजिकिँदो छ। संविधानत मुलुक धर्म निरपेक्ष घोषणा भएपछि सबै धर्म मान्नेको साझा चाड बनेको छ दशैं तिहार। पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुलासम्म दशैंको रौनकले छोपेको छ। सर्वसाधारणदेखि 'भिआइपी'सम्मलाई मोहित बनाउने दशैंबाट नेपाली खेलकुद जगतका हस्तीहरू समेत अछुतो रहन सक्दैनन्। तर, धेरै जसो राष्ट्रियस्तरका खेलाडी र प्रशिक्षकको यो वर्षको दशैंमा परिवारको साथ रहने छैन।

पुरुष राष्ट्रिय फुटबल टोली विश्वकप छनौटको लागी अष्ट्रेलियामा रहँदा सागमा प्रतिस्पर्धा गर्ने खेलाडी क्लोज क्याम्पमा नै व्यस्त हुने गर्छन्। खेलाडीलाई पाँच दिन बिदा दिइए पनि नेपालमै आयोजना हुने प्रतियोगितामा उपाधी जित्नका लागि अधिकांश खेलाडीले परिवारसँग दशैं मनाउने छैनन्। नजिकै घर हुनेहरू खेलाडी एवं प्रशिक्षक परिवारसँग दशैंको उत्साह साट्न लालयित रहँदा टाढा घर हुनेहरू साथीभाइ माझ नै दशैं मनाउने योजनामा छन्।

साथीभाइसँगै घुमेर मनाउने : भरत खवास / पूर्वउपकप्तान, नेपाली राष्ट्रिय फुटबल टिम

मोरङको हरैचा घर भएका भरत खवासका यस पटक साथीभाईहरुसंगै घुमेर दशै मनाउने योजनामा छन्। नेपाली राष्ट्रिय टिमबाट विश्वकप छनोट टोलीमा नपरेका खवास घुमघाम र साथीभाइ बीच रमाइलोमा नै दशैंको रौनक रहेको बताउँछन्।

‘घर यस पटक नजाने योजना छ’ उनी भन्छन् ‘नजिकै सुसुराली भएकाले श्रीमती र छोरी लिएर टीका थाप्न जान्छु। त्यसमाथि पनि यस वर्ष मामाघरमा छोरीको पहिलो दशैं।’ दशैंमा मासुलगायत खानेकुरा खाँदा केही मोटाउने सम्भावनाले गर्दा शरीरको स्वरुप नविगार्ने उनी योजना सुनाउँछन्।

दशैंभन्दा साग गेममा 'फोकस' : विनिता बुढाथोकी / पूर्वकप्तान, नेपाली महिला भलिबल टिम

इलामको गजुरमुखी पुर्ख्यौली घर भएकी विनिता बढाथोकीको लागि यस पटक देशलाई मेडल दिलाउन कसरत नै दशैं हो। त्यसैले उनी यस पटक दशैं दिदी-भिनाजु र सानीमाको साथमा काठमाडौंमा मनाउँदै छिन्। १३औँ सागमा वीच भलिबलका लागि आर्मीको भलिबल कोर्टमा प्रशिक्षणमा रहेको उनी यस पटक देशलाई पहिलो उपाधी दिलाउने योजना रहेको सुनाइन्।

‘सागको इतिहासमा पहिलोपटक वीच भलिबल समावेश भएको छ। त्यसमाथि पनि घरेलु मैदानमा उपाधी दिलाएर प्रमाणित गर्न चाहन्छु’ उनी भन्छिन् ‘यो पटक दशैंभन्दा पनि गेममा फोकस हो।’

आमासँग काठमाडौंमा हुनेछु : निरु थापा / कप्तान, नेपाली महिला फुटबल टिम

दशैंको बिदा छोटो भए पनि नेपाली महिला टिमकी कप्तान निरु थापा आमाको साथमा दशैं मनाउने योजनामा छिन्। गत वर्ष मूल घर नेपालगञ्जमा दशैं मनाएकी निरुले यस वर्ष काठमाडौंमा आमाको साथमा दशैं मनाउने बताइन्।

नजिकको सागमा फुटबलको पावरहाउस भारतलाई हराउन पोखरामा कडा मेहनत गरिरहेको नेपाली टिमकी कप्तान भन्छिन् ‘दशैमा खानपानमा ध्यान दिएर ट्रेनिङलाई पनि निरन्तरता दिन्छु। जसले गर्दा शरीरको स्वरुप बिग्रन नपाओस।’ प्रतियोगिताको उपाधी नै दशैं बराबर रहेको उनी बताउँछिन्। 

सिनियर दिदीहरूसँग रमाइलो गर्छु : अप्सरी वेगम / व्याटसवुमन, नेपाली महिला क्रिकेट टिम

धर्मको हिसाब मुसलमान अप्सरी दशैं भन्नेबित्तिकै उत्साह थपिने बताउँछिन्। तर, यस पटक उनी परिवारको साथ हुने छैनन्। झापा मेची नगरकी बासिन्दा उनी गृह क्षेत्रकै रुविना क्षेत्रीको नेतृत्वको नेपाली टोलीमा सागका लागि बन्द प्रशिक्षणमा छिन्। मेचीका खेलाडीहरूको प्रोत्साहनका लागि आयोजना भएको तेश्रो झापा स्पोर्टस अवार्डको युवा विधाकी बिजेता उनले अवार्डकै क्रममा परिवारसँग भेटने अवसरसमेत पाइन्।

‘अवार्डको लागि आउँदा एक रात परिवारसंगै विताउने पाए यस बर्षको दशैं यहि नै भयो’ उनी भन्छिन् ‘ दशैंमा सिनियर दिदीहरू साथीभाइहरूसँग बिदामा घुमेर नै दशैं मनाउने हो।’ दशैंभन्दा पनि देशका लागि मेडल कसरी ल्याउने भन्ने चिन्ताको विषय बनेको अप्सरीले सुनाइन्।

सधैँ झैँ परिवारको साथमा हुनेछु : छिरिङ गुरुङ / कप्तान यु-२१ नेपाली फुटबल टिम

इलामको जमुना घर भएका छिरिङले गत वर्ष झैँ यस वर्ष पनि परिवारसँग दशैं मनाउँदैछन्। सागका लागि नेपाली टिममा समेत रहेका छिरिङ बिदा मिलाएर घर आएको बताए।

‘९ दिनको बिदा लिएर आएको छु त्यसपछि फेरि टिममा फर्कन्छु’ उनी भन्छन् ‘ खासै त्यस्तो विशेष योजना छैन साथीभाइसँग यसो घुम्यो डुल्यो रमाइलो गर्‍यो।’ झापा स्पोर्टस् अवार्डको युवा विधामा मनोयनमा परेका उनी अवार्ड समारोहपछि सीधै घर जमुना दशैं मनाउन गएका हुन्।

चंगा उडाउँदै संस्कृति जोगाउने : मण्डे श्रेष्ठ / कराते खेलाडी

काठमाडौं नयाँ ठिमीका बासिन्दा मण्डे श्रेष्ठ यसपटक परिवारको साथमा दशैं मनाउँदैछन् । सागको बन्द प्रशिक्षणमा रहेका कारण यसपटक उनी उपत्यका भित्र नै दशैं मनाउने योजना रहेको सुनाउँछन्।

बाल्यकालमा चंगा उडाएको सम्झदै यस पटक परिवारसँग चंगा उडाएर रमाइलो गर्ने बताउँछन्। ‘अहिलेका पुस्ता मोबाइलमा चंगा उडाउँछन। संस्कृति जोगाउन यसपटक चंगा उडाने हो। त्यो पनि किनेर राखी सकेको छु’ उनी भन्छन्।

विश्वकप छनोटमा उत्कृष्ट नतिजा पहिलो प्राथमिकता : रवि पासवान / मिडफिल्डर, नेपाली राष्ट्रिय फुटबल टिम

नेपाली टिमका भरपर्दा मिडफिल्डर रवि पासवानको यस वर्षको दशैं परिवारको साथमा हुने छैन्। विश्वकप छनोटका लागि अष्ट्रेलियामा रहेको नेपाली टोलीमा रविसमेत छन्। बलियो प्रतिद्वन्द्वीविरुद्धको खेल भएकाले दशैंभन्दा पनि उच्च प्रदर्शनमा फोकस रहेको उनी सुनाउँछन्।

‘कडा मेहनत गरिरहेको छौँ। अघिल्लो नतिजाले पनि केही आत्मबल बढेको छ। राम्रो नतिजा ल्याएर आगामी वर्ष धुमधामले मनाउँला’ उनले सुनाए।

फुटबल हेरेरै दशै मनाइन्छ : प्रवेश कटुबाल / प्रशिक्षक, झापा-११

यस पटक पनि सधैँ झैँ झापा-११ का प्रशिक्षक प्रवेश कटुवालको दशैं फुटबलको माहोलमै बित्दैछ। फुटबलको हब मानिएको झापाका विभिन्न क्षेत्रमा अष्टमीको समयसम्म फुटबल गतिविधि हुने गर्छ जसमा प्रवेशको सक्रिय रूपमा सहभागी हुने गर्छन्। हरेक वर्ष गाउँघरमा हुने प्रतियोगिता साथीभाइ जम्मा भएर फुटबल हेर्ने गरेका छन्।

‘काठमाडौंलगायत देशका विभिन्न ठाउँमा भएका साथी जम्मा हुन्छ। अनि गाउँमा कहाँ फुटबल हुँदै त्यतै हेर्न गयो’ उनी भन्छन्। दशैं साथीभाइहरू जुटाउने अवसरको रूपमा रहेको उनी सुनाउँछन्।

उपल्लो मुस्ताङ जाने योजना : वीजेन्द्र पुडासैनी, प्रशिक्षक हिमालयन शेर्पा

हिमालयन शेर्पाको सिनियर र जुनियर टिमलाई प्रशिक्षण दिएका बूढानीलकण्ठ निवासी बिजेन्द्र पुडासैनी यस वर्षको दशैंको समयमा उपल्लो मुस्ताङ घुम्न जाने योजना रहेको बताए। अग्रजहरूको आशिर्वाद लिएर उपल्लो मुस्ताङ जाने लामो समय देखिको योजनालाई दशैंमा मूर्त रूपमा दिने उनले बताए।

सागमा गोल्ड ल्याउने गरि प्रशिक्षण : एन्जिला सुब्बा / गोलरक्षक, नेपाली महिला फुटबल टिम

नेपाली राष्ट्रिय टोलीकी गोलरक्षक एन्जिला सुव्वा यस पटक देशलाई सागको महिला फुटबलमा पहिलो स्वर्ण दिलाउने योजना रहेको सुनाइन्। पोखरामा प्रशिक्षणमा रहेकी उनी ५ दिनको बिदालाई पनि प्रशिक्षणमा नै लगाउने बताइन्।

‘छोटो समयको बिदा छ। त्यसमाथि पनि इलाम घर पुगेर आउन सकिँदैन’ उनी भन्छिन् ‘टिमका साथीभाइहरू माझ नै दशैं मनाउछु। सम्भव भएसम्म गड फादर (प्रेम श्रेष्ठ) को मा चाही जान्छु होला।’ सागमा देशलाई पहिलो पटक गोल्ड दिलाउन सके त्यही नै दशैंभन्दा ठूलो उत्साह हुने एन्जिलाले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.