'सीको नेपाल भ्रमणको फाइदा मूल्यमा नाप्न सकिँदैन'

|

काठमाडौं : नेपाललाई भू-परिवेष्ठितबाट मुक्त गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सपनामा चीनका राष्ट्रपति सी जिनपिङले साथ दिएको संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताएका छन्।

मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्ने कार्यक्रममा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले लामो समयदेखि प्रधानमन्त्री ओलीले नेपाललाई भू-परिवेष्ठितबाट भूजडित बनाउने सपना देखिरहेको र त्यसमा नेपाल भ्रमणका क्रममा चीनका राष्ट्रपति सीले साथ दिएको बताए। उनले आफ्नो मन्तव्यका क्रममा उक्त कुरा स्पष्टसँग उल्लेख गरेको बताए।

मन्त्री बाँस्कोटाले बलियो राष्ट्र चीनका राष्ट्रपतिको भ्रमण दुई देश र जनताको हितमा भएको धारणा राखे। उनले थपे, 'नेपाल र चीन कुनै पनि किसिमले तुलना हुन नसक्ने अवस्थामा छन्। यस्तो अवस्थामा पनि राष्ट्रपति सीले भ्रमण गरेर नेपालको छवि अन्तर्राष्ट्रिय स्तरमा तुलना नै हुन नसक्ने गरी ऊँचो भएको छ। नेपाल एक सानो देश छ भन्ने स्थापित थियो त्यो टुट्यो। अन्तर्राष्ट्रिय जगतमा चिनिएको छ।'

सीको भ्रमणका केही तत्कालिन र केही दीर्घकालीन प्रभाव रहेका र भ्रमण ऐतिहासिक किसिमले सफल भएको उनको बुझाइ थियो। उनले नेपाली अब हिनतावोधी भएर रहनु नपर्ने धारणा राखे। चीनसँग विद्युत, संचार क्षेत्रमा अगाडि बढ्न सम्झौता भएको र सी भ्रमणको फाइदा र नेपाल राष्ट्रको हितको कुरा मूल्यमा नाप्न नसकिने बताए।

मन्त्री बाँस्कोटाले चीनसँग कुनै पनि सैन्य सम्झौता नभएको प्रष्ट पारे। उनले भने, 'हाम्रो स्पष्ट मान्यता छ। हामीले विकास र समृद्धिका पक्षमा साझेदारी गरेका हौँ। यो भ्रमणमा सैन्य विषय जोड्नुको आवश्यकता छैन। नेपालले असंलग्न परराष्ट्र नीति अपनाएको छ। सैन्य विषयमा सोच्नु पनि आवश्यक छैन।'

उनले सेनाको क्षमता अभिवृद्धिमा नेपालले भारत र अन्य मुलुकको पनि सहयोग लिएको विषयलाई अन्यथा रूपमा बुझ्न नहुने बताए। उनले अन्य मुलुकबाट पनि नेपालले उच्च स्तरीय भ्रमणको अपेक्षा र गृहकार्य गरिरहेको जानकारी दिए।

चीनका राष्ट्रपति सी जिनपिङले असोज २५ र २६ गते नेपालको राजकीय भ्रमण गरेका थिए। उनको यो भ्रमण नेपालमा चिनियाँ राष्ट्रपतिको तर्फबाट २३ वर्षपछि भएको हो। उक्त भ्रमणका क्रममा नेपाल र चीनबीच २० बुँदै सम्झौता भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.