|

  • अर्जुन आचार्य

मोरङ : सिंहदेवी गाविसमा पर्ने जेफाले डाँडामा पाँचतले भ्युटावर सञ्चालनमा आएपछि सूर्योदय र हिमाली श्रृंखलाको दृश्यावलोकन गर्नेको लर्को लाग्न थालेको छ। मोरङको सूर्योदय हुनुअघि सगरमाथा, मकालु, कञ्चनजंघा हिमश्रृंखलामा देखिने सूर्यका कलिला किरणले पर्यटकको मन हरेरै छोड्छ। यहाँ आउनेहरू भन्छन्, ‘यहाँको वातावरण इलामको चर्चित श्रीअन्तुबिसाउने खालको छ।’ 

समुद्र सतहदेखि २१ सय मिटर अग्लो ठाउँमा रहेको जेफाले डाँडा सडकलगायतका पूर्वाधारको अभाव छ। मोरङबाट सुनसरीको धरान, धनकुटाको डाँडाबजार हुँदै लामो बाटो तय गरेर जेफाले पुग्नुपर्ने बाध्यता छ।

होमस्टेमा बसेर बिहान झिसमिसेमै झण्डै ३० मिनेटमा १२ सय सिँढी चढेर सूर्योदय अवलोकनका लागि उकालो चढ्नु पर्छ। 

जेफाले जानेहरूका लागि स्थानीयले होमस्टे प्याकेज कार्यक्रमसमेत राखेका छन्। जेफाले सामुदायिक होमस्टे सेवा गठन गरी यहाँका केही घरमा एकै पटकमा ४० पर्यटकलाई सेवा दिने व्यवस्था मिलाइएको छ। होमस्टेमा स्थानीय उत्पादन खुवाई हुर्रा नाच देखाएर पर्यटकलाई मनोरञ्जन गराइन्छ। 

मोरङको पहाडी क्षेत्रमा विकास हुँदै गरेको चिया बगानको अवलोकन पनि गर्न सकिन्छ,जेफालेबाट। यहाँ आउने हरेक पाहुनालाई फूलमालाले स्वागत गर्ने र फूलमालाले नै बिदाइ गर्ने परम्परा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.