|

बाँके : कोहलपुर नगरपालिका–१, कौशिलानगरकी शोभा विक दिनभर भेडाको ऊनबाट धागो बनाउँछिन्। धेरै मेहनत गरे पनि उनले दिनमा एक किलो भन्दा बढी ऊनको धागो बनाउन सक्दिनन्। एक किलो  धागो बनाएबापत उनले जम्मा १ सय ५० रुपैयाँ पाउँछिन्। 

रोजगारीको अन्य विकल्प नभएपछि यहाँका दलित परिवारका महिलाले न्युन पारिश्रमिक लिएर ऊनी धागो कातेर जीविकोपार्जन गर्दै आएका छन्। यहाँका महिलाले भेडाको ऊनको धागो हातले कातेर जीवन धान्दै आएको विक बताउँछिन्। एक केजी ऊनबाट धागो बनाउन २ दिनसम्म लाग्ने उनले बताइन्। ‘फुर्सदको समयमा धागो कात्छौं। समय खेर फाल्नुभन्दा अलिअलि आम्दानी भएकै राम्रो’, उनले भनिन् । 

करिब ६ वर्षदेखि भेडाको ऊनको धागो काटेर जीवन गुजारा गर्दै आएका यी महिलाले अहिलेसम्म तालिम पाएका छैनन्। गत वर्ष घरेलु तथा साना उद्योग कार्यालयबाट थारु हस्तकलामा आधारित ढकिया बुनाइ तालिम पाएका उनीहरूका लागि उक्त तालिम फलदायी भएन। 

बरु आफूहरुले गर्दै आएको ऊनको धागो कात्ने सीपमा आधारित तालिम दिन माग गरेका छन्। ‘ऊनको धागो कात्ने मेसिन पाएको भए एकदिनमा धेरै रुपैयाँ आर्जन गर्न सकिन्थ्याे, हामीलाई  अरु तालिमभन्दा ऊनको धागो कात्ने सीप र औजार जरुरी छ,’ कौशिलानगरकी रत्नमोती परियारले  भनिन्। 
ऊनको धागो कात्ने मेसिन भए दिनमा १०\१२ किलो धागो काट्न सकिने उनले जानकारी दिइन्। ‘दिनमा ५ किलो मात्र  धागो कात्न सके दैनिक ७–८ सय रुपैयाँ कमाउन सकिन्छ,’ उनले भनिन्। 

काठमाडौंका व्यापारीले भेडाको ऊन गाउँसम्मै पुर्‍याउने गरेका छन्। एक पटकमा १९–२० क्वीन्टल ऊन गाउँमा आउने गरेको छ। ‘पारिश्रमिक थोरै पाए पनि नियमित रूपमा काम पाइने र फुर्सदको सदुपयोग हुने भएकोले चित्त बुझाएर काम गरिरहेका छौं,’ उनले भनिन्। बाँकेको महादेवपुरी, चिसापानी, नौवस्ता, बनकटवा र कचनापुरमा पनि काठमाडौंका व्यापारीले ऊन ल्याइदिने गरेका छन्। सस्तो पारिश्रमिक दिएर ऊनको धागो काट्ने पाइने भएकोले व्यापारी यता केन्द्रित भएको स्थानीयको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.