सिन्धुली : अति सिमान्तकृत दनुवार जातिको मौलिक कला, संस्कृति र संस्कारको संरक्षण र संवर्द्धनका लागि सिन्धुलीको दुधौलीमा राष्ट्रियस्तरको दनुवार संग्राहालय निर्माण हुने भएको छ।
दुधौली नगरपालिका समन्वय र प्रदेश ३ सरकारको सहयोगमा संग्राहलय निर्माण हुने भएको हो। दुधौली नगरपालिकाको वडा नं. ५ सिर्थौलीमा ११ करोड ६९ लाखको लागतमा निर्माण हुने दनुवार संग्राहलयको डिपिआर निर्माण भइसकेको छ।
दुधौली नगरपालिकाको करिब चार लाख लागतमा कमलामाई इन्जिनियरिङ कन्सल्टेन्सीले डिपिआर तयार गरेको दनुवार जागरण समितिका उपाध्यक्ष रामदेव अधिकारीले बताए। ‘संग्राहलय निर्माणका लागि प्रदेश ३ सरकारको उद्योग, पर्यटन वन तथा वातारण मन्त्रालयले २५ लाख बजेट चालु आर्थिक वर्ष छुट्याएको छ। यसै वर्षदेखि नै संग्रहालय निर्माणको काम सुरु हुन्छ’ उपाध्यक्ष अधिकारीले भने।
संग्राहलयमा दनुवार जातीको मौलिक कला, संस्कृति, परम्परा र संस्कारको संरक्षण र संवर्द्धनका सामान राखिने उनले बताए। ‘संग्राहालयको २ वटा हलमा मौलिक कला संस्कृति झल्काउने सामान रहनेछन। एउटा पुस्तकालय, उनीहरूको कला संस्कृतिलाई भिडियोमा देखाउन भिडियो थिएटर रहने छ। अफिस, मिटिङ हलसमेत उक्त संग्राहालयमा हुनेछ। यस्तै, टिकट काउन्टर, पार्किङ स्थल, क्यान्टिन, बगैँचा रहनेछ’ उनले भने।
संग्राहालय निर्माणका लागि उपाध्यक्ष अधिकारीले सिर्थौलीमा रहको आफ्नो ५ कठ्ठा जग्गासमेत निःशुल्क उपलब्ध गराएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।