राजनीति

छिन्नमस्तामा वडाध्यक्षका लागि नौ जनाको उम्मेदवारी

कात्तिक २८, २०७६

    सिरहा : सप्तरीको छिन्नमस्ता गाउँपालिका-७ को वडाध्यक्ष पदका लागि नौ जनाको उम्मेदवारी परेको छ। स्थानीय तह उपनिर्वाचनअन्तर्गत आगामी १४ मंसिरमा हुने निर्वाचनका लागि ६ राजनीतिक दल र तीन स्वतन्त्र गरी नौ जनाले उम्मेदवारी दर्ता गरएका हुन्।

    वडाध्यक्ष प्रभाकर यादव जिल्ला समन्वय समिति प्रमुख भएपछि रिक्त रहेको उक्त पदका लागि नेपाल कम्युनिष्ट पार्टीका अच्छेलाल यादव, नेपाली कांग्रेसका शिवनारायण मण्डल, समाजवादी पार्टीको समेत समर्थनमा राजपाकी प्रमिलादेवी यादवले उम्मेदवारी दिएका छन्। प्रमिला निवर्तमान वडाध्यक्ष तथा जिसस प्रमुख प्रभाकरकी पत्नी हुन्।

      वडाध्यक्षको प्रत्याशीको रुपमा राप्रपाका गजेन्द्र मण्डल, नेपाल लोकतान्त्रिक पार्टीका सकलदेव साह र सिके राउत नेतृत्वको जनमत पार्टीबाट दिनेशकुमार यादवले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै, धिरेन्द्रकुमार यादव, नुरहुसन अन्सारी र रञ्जितकुमार यादव गरी तीन जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन्।

    छिन्नमस्तास्थित भूपेन्द्र नारायण संस्कृत मा.वि.मा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार छिन्नमस्ता ७ को वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा स्थानीय राष्ट्रिय प्रा.वि. मतदान केन्द्रमा क र ख गरी दुई मतदान स्थल तोकिएका छन्।

    उपनिर्वाचनमा छ सय ४६ महिला र सात सय ५७ पुरुष गरी कुल एक हजार चार सय तीन मतदाता रहेको कार्यालयले जनाएको छ। २०७४ असोज २ गते सम्पन्न पहिलो स्थानीय तहको निर्वाचनमा उक्त वडामा रहेका एक हजार एक सय ७५ मतदातामा दुई सय २८ मतदाता थपिएपछि एक हजार चार सय तीन मतदाता पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

       २०७४ मा भएको पहिलो स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालबाट दुई सय ८८ मतसहित निर्वाचित छिन्नमस्ता गाउँपालिका ७ का वडाध्यक्ष प्रभाकर जिल्ला समन्वय समिति सप्तरीको प्रमुख पदमा निर्वाचित भएपछि उक्त पद खाली थियो।

    आज मनोनयनविरुद्ध दाबी विरोध

    मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीका अनुसार कार्यालय स्थापनाको एक सातापछि कार्तिक २७ गते उम्मेदवारहरुको मनोनयन पत्र दर्ता गरी सूची प्रकाशन गरिएको छ।

    कार्तिक २८ गते उम्मेदवारको विरोधमा उजुरी दिने, कार्तिक २९ गते मनोनयन पत्र र उजुरीको विषयमा जाँचबुझ गरी मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।

    कार्तिक ३० गते उम्मेदवारले आ–आफ्नो नाम फिर्ता लिएपछि त्यही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, मंसिर १ गते उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने र मंसिर १४ गते बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मतदान कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]