|

बैतडी : बैतडीका १७४ सामुदायिक विद्यालय शून्य दरबन्दीमा सञ्चालनमा रहेका छन्। ती विद्यालयहरू निजी श्रोतका शिक्षकका भरमा सञ्चालन भइरहेका छन्। समुदायको पहलमा स्थापना भएका विद्यालयमा दरबन्दी नहुँदा शैक्षिक गुणस्तर कमजोर हुँदै गएको छ।

जिल्लामा कक्षा १ देखि ५ सम्मका ४३, कक्षा १ देखि ८ सम्म पढाई हुने ८७ र ४४ वटा माध्यमिक विद्यालय दरबन्दीविहीन रहेका शिक्षा विकास तथा समन्वय इकाई बैतडीका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिए। यी विद्यालयहरू निजी श्रोतका शिक्षकका भरमा सञ्चालन भइरहेका छन्। उनले भने, '२०५२ सालपछि स्थापना भएका धेरै विद्यालयहरूमा दरबन्दी छैन।' 

सामुदायिक विद्यालयमा शिक्षकको दरबन्दी नहुँदा शैक्षिक गुणस्तर खस्कँदै गएको सुर्नया ५ का निराजन मडैले बताए। राजनीतिक पहुँचका आधारमा विद्यालय सञ्चालनको अनुमति प्रदान हुँदा सामुदायिक विद्यालय सञ्चालनमा समस्या आएको हो। अनुमति लिँदा समुदायले व्यवस्थापन गर्छौ भनेर अनुमति लिएकाले विद्यालयमा दरबन्दी सिर्जना हुन सकेको छैन।

शिक्षक दरबन्दी नहुँदा निजी श्रोतबाट शिक्षक भर्ना गरि बिद्यालय सञ्चालन भइरहेका छन्। शून्य दरबन्दी रहेका विद्यालयमा निजी श्रोतका शिक्षक तथा राहत दरबन्दीका शिक्षकले अध्यापन गर्दै आएका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्र अवस्थीको भनाई छ।

शून्य दरबन्दी भएका विद्यालयमा दरबन्दी  सिर्जनाका लागि जिल्लास्तरमा नहुने शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी शर्माले बताए। विद्यालयमा सरकारी दरबन्दीका शिक्षक नहुँदा अविभावककै चन्दाका भरमा अधिकांश विद्यालय सञ्चालन भएका छन्। यसले गर्दा माध्यमिक तहको सम्मको शिक्षा निशुल्क भनिए पनि त्यो कार्यान्वयन भने हुन सकेको छैन। 

निजी श्रोतका शिक्षकको तलवका लागि महिनाको अनत्यमा विद्यालयलाई धौ धौ पर्ने गर्दछ। विद्यालयमा शून्य दरबन्दी हुँदा विद्यालय सञ्चालनमा निकै समस्या भएको पाटन नगरपालिका ९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाका व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले बताए।

शिक्षक पदपूर्तिका लागि जिल्ला समन्वय समितिले पनि पहल थालेको जनाएको छ। शिक्षाका अधिकार स्थानीय सरकारमा रहेकोले स्थानीय तहले चाँसोद देखाउनुपर्ने जिल्ला समन्वय समिति बैतडीका प्रमुख सिद्धराज भट्टले बताए। शिक्षाका अधिकार स्थानीय तहमा गएकोले अब शिक्षाका गतिविधि स्थानीय सरकारले गर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.