|

काठमाडौं : ललितपुर महानगरपालिकाले साइकल लेन निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ। साइकलमैत्री महानगर बनाउने उद्देश्यले साइकल लेन निर्माण गरिएको भए पनि साइकल सुरक्षा ऐन निर्माण नगरी लेन बनाइएको पाइएको छ।

सडक निर्माण गर्दा त्यसको मापदण्डमा रहेर भौतिक पूर्वाधार निर्माण गरिनुपर्ने हुन्छ। ऐन नहुँदा साइकल यात्रीको सडकमा सुरक्षा चिन्ता हुने भनेर साइकल यात्रीले गुनासो गरेका छन्।

बिनातयारी काम देखाउनको लागि साइकल लेन निर्माण गरिएको साइकल यात्री गौरव गिरी बताउँछन्। साइकल लेन व्यस्त सडकमा बनाउन नहुने उनको सुझाव छ। जनप्रतिनिधिले सस्तो लोकप्रियता देखाउनको लागि हतारमा लेन निर्माण गरेको उनले आरोप लगाए।

उनले भने, 'साइकल लेन निर्माण गर्नु थियो भने लेनको अध्ययन गरी लेन निर्माण गरिनुपर्छ। त्यसमा यात्रीको सुरक्षा हुनुपर्छ। कस्तो लेन हो? साइकल पनि कुदेको छ ठूला सवारीसाधन पनि कुदेको छ।' साइकल लेनको लागि सडक देखि छुट्टै लेन निर्माण हुनुपर्ने उनको भनाइ थियो।

तीव्र गतिमा सवारीसाधन चलेका हुन्छन साइकल चलाउँदा पछाडि वा छेउमा आएर हानिदिने हो कि भनेर चिन्ता रहेको गिरीले थाहाखबरलाई बताए। हाल एक साइडमा मात्र लेन निर्माण गरिएको उनको भनाइ थियो। 'पुल्चोकदेखि कुपण्डोलसम्म एकतर्फी निर्माण गरिएको छ,' उनले भने।

दीर्घकालीन योजनाबिनाको काम

'साइकल, मोटरसाइकल र माइक्रो भेन एउटै लेनमा कुदिरहेको छ। यस्तो सडकमा साइकल यात्री सुरक्षित हुन सक्दैनन्,'उनले भने,' साइकलको लागि स्वतन्त्र मार्ग चाहिन्छ। साइकल लेन निर्माण गरिएको छ त्यहाँ साइकल मात्र कुँद्नुपर्छ।'

सडकमा साइकल यात्री निस्केपछि यात्रीले सुरक्षाको महसुस गरिनुपर्ने उनको भनाइ थियो। साइकल लेनमा मोटरसाइकल कुदेर साना कारहरू पार्किङ गरेर लेनमा राखिएको उनले गुनासो गरे। जनप्रतिनिधिले सस्तो लोकप्रियताको लागि काम गरेको उनले धारणा राखे।

त्यस्तै, अर्का साइकल यात्री मिलन राईले साइकल लेन निर्माण गरिनु भनेको साइकल चालकको अधिकार सुरक्षित गर्नु रहेको बताए। सडकमा निस्केपछि सबैभन्दा ठूलो चुनौती सुरक्षाको हुने भएकोले ऐनको निर्माण गरी त्यसलाई कार्यान्वयनमा ल्याउनुपर्ने उनको माग थियो।

रेखांकन गरी निर्माण गरिएको लेनमा साइकल यात्रीको सुरक्षा नहुनेमा उनको विश्वास थियो। 'लेन निर्माण गर्नु नै थियो भने मूलसडकदेखि बाहिर गएर निर्माण गरिनुपर्छ,' उनले भने,' मुख्य सडक सानो भएकोले साइकल लेन निर्माण गर्दा अझ सडक साँगुरो भएर गएको छ।'

सवारी जाम पर्दा साइकल लेनमा आएर सवारी पार्किङ गरेर राखेको उनले बताए। 'सवारी जाम हुन्छ भने पनि साइकल लेन सदा साइकलको सुरक्षित हुनुपर्छ,' उनले भने, 'लेनमा अस्तव्यस्त हुनु भनेको नै ऐन निर्माण गरी सञ्चालनमा आउनु पनि समस्या रहेको छ।'

ऐन निर्माण नहुँदा लेनमा जथाभावी सवारी साधन पार्किङ गरिएको उनले बताए। कानुन निर्माण गरी यस लेनलाई व्यवस्थित गर्न उनले सुझाए। ढिलो भए पनि महानगरले साइकल लेन निर्माण गरेर साइकल यात्रीको अधिकार सुरक्षित गरेको उनको भनाइ छ।

साइकल लेनको जरुरी देखेर बनायौँ, छिट्टै ऐन ल्याउँछौँ

ललितपुर महानगरपालिकाभित्र साइकल लेनको जरुरी भएकोले प्राथमिकतामा राखी लेनको निर्माण गरिएको ललितपुर महानगरपालिकाका सहरी विकासका प्रमुख रुद्र प्रसाद गौतमले बताए। उनका अनुसार लेन निर्माण पनि गर्दै ऐन पनि ल्याउने तयारी गरिरहेको छ। नगरसभाको बैठक बस्नेबित्तिकै साइकल यात्रीको सुरक्षासम्बन्धी ऐन निर्माण गरिन्छ ।

साइकल यात्रीको सुरक्षाको लागि सवारी चालक र साइकल यात्री आफैँ सक्षम पनि हुनुपर्ने उनले बताए। 'साइकल लेन निर्माण नगर्दा पनि साइकल यात्रीले त्यहीँ सडकमा साइकल चलाएका थिए,'उनले भने,' लेन  निर्माण गरी साइकलको लागि बाटो हो भन्ने स्वामित्व साइकल चालकलाई ग्रहण गरिएको छ।'

लेनमा पार्किङ गरिएको  सवारी साधनलाई ट्राफिक प्रहरीसँग समन्वय गरी हटाइने उनले बताए। लेनको  पहिलो अधिकार साइकलाई हुने उनको भनाइ थियो। यो लेन सेयर गरी प्रयोग गर्न मिल्ने गरी बनाइएको उनको दाबी थियो। साइकल नहुँदा अन्य सवारीसाधन सञ्चालन गर्न पाउने उनले बताए।

महानगरपालिकाले साइकल लेन सडकको दाँयाबाँया गरेर १०  किलोमिटर लेन निर्माण गर्ने भएको छ। चालु सडकमा १.५ चौडाइ मिटरको सडक निर्माण गरेको छ। हाल पुल्चोकदेखि कुपण्डोलसम्म एकतर्फी लेन निर्माण गरेको उनले जानकारी दिए। साग गेम भएकोले दुई चार दिन निर्माण प्रक्रिया रोकिएको उनले जानकारी दिए। साग गेम सकिन साथ लेन निर्माणको प्रक्रिया अगाडि बढने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.