|

बेलायती आमचुनावमा दक्षिणपन्थी कन्जरभेटिभ पार्टीले पूर्ण बहुमतसहित जीत हासिल गर्ने एग्जिट पोलले देखाएको छ। मतदाताको रुझानलाई इङ्गित गर्ने पछिल्लो एग्जिट पोलको अनुमान नतिजामा बदलिए बेलायती सत्तामा बोरिस जोनसनको पार्टी स्थापित हुनेछ। 

बेलायती जनताले बिहीबार पाँच बर्षकै अवधिमा तेस्रो पटक भएको आमचुनावमा मतदान गरेका थिए। मतदान सकिएलगत्तै बीबीसीलगायतका सञ्चारमाध्यमहरुले एग्जिट पोलका नतिजा सार्वजनिक गरेका छन्।

चुनावी नतिजा आफ्नो पक्षमा आए प्रधानमन्त्री बोरिस जोनसनले ईयुबाट अलग हुने आफ्नो वाचालाई कार्यान्वयन गर्नेछन्। गृहमन्त्री प्रीति पटेलले क्रिसमस अघि नै संसदमा ब्रेग्जिट विधेयक पेश गर्ने बताएकी छिन्।

पाँच बर्षको अवधि बेलायती जनताले सन् २०१५ र २०१७ मा भएको आम चुनावमा भोट हालिसकेका छन्। पछिल्लो चुनाव पाँच बर्षभित्र तेस्रो पटक भएको हो। युरोपेली संघ (ईयु) बाट बहिर्गमन (ब्रेग्जिट) लाई लिएर बेलायत चरम राजनीतिक संक्रमणमा फसेको छ।

पाँच बर्षभित्रै आज तेस्रो पटक भोट हाल्दै बेलायती

बेलायतमा सरकार बनाउनका लागि ३२६ सांसदको समर्थन जरुरी हुन्छ। एग्जिट पोलहरुमा कन्जरभेटिभ पार्टीले नै पूर्ण बहुमत प्राप्त गर्ने देखिएको छ। कूल ६५० सिटमध्ये कन्जरभेटिभले ३६८, लेबरले १९१, लिबरल डेमोक्रेट्सले १३ र एसएनपीले ५५ सिट जित्ने अनुमान गरिएको छ। सन् २०१७ मा भएको चुनावको तुलनामा कन्जरभेटिभलाई थप ५० सिट प्राप्त हुने बताइएको छ।

चुनाव सकिएपछि बोरिस जोनसनले ट्वीटरमा पहिलो प्रतिक्रिया दिँदै लेखेका छन्–चुनावमा भाग लिने सबैलाई धन्यवाद, हामी विश्वकै सबैभन्दा महान लोकतन्त्रमध्येका एक हौं।

लेबर पार्टीका जोन म्याकडोनालले वास्तविक नतिजा यस्तै आएमा निकै निराशाजनक हुने बताएका छन्। आफुहरुले दुबै पार्टीले करिब उस्तै नतिजा ल्याउने अनुमान गरेको पनि जोनले उल्लेख गरेका छन्।

एग्जिट पोलअनुसारकै नतिजा आएमा सन १९८७ पछि कन्जरभेटिभ पार्टीको सबैभन्दा ठूलो जीत हुनेछ। लेबर पार्टीले सन् १९३५ पछि सबैभन्दा खराब नतिजा भोग्नुपर्नेछ। लेबरले यो चुनावमा ७१ सिट गुमाउने देखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.