|

एजेन्सी : नागरिकता कानुनको विरोधमा भारतका विभिन्न स्थानमा चर्किएको आन्दोलनबारे प्रधानमन्त्री नरेन्द्र मोदीले मुख खोलेका छन्। मोदीले 'उक्त कानुन कुनै समुदायविशेषविरुद्ध लक्षित नभएको' बताएका हुन्।

सोमबार लगातार पाँचवटा ट्वीट गरेका मोदीले 'नागरिकता संशोधन कानुनबारे हिंस्रक प्रदर्शन हुनु दुर्भाग्यपूर्ण र चिन्ताजनक भएको' भन्दै नयाँ कानुनसँग नडराउन अपील गरेका हुन्।

'म भारतीयहरूलाई स्पष्ट रुपमा आश्वस्त तुल्याउन चाहन्छु,' उनले भनेका छन्, 'नागरिकता कानुनबाट कुनै पनि धर्म मान्ने नागरिक प्रभावित हुँदैनन्। कोही डराउनुपर्दैन। यो कानुन वर्षौंदेखि अन्याय सहँदै आएका र भारतबाहेक दोस्रो ठेगाना नभएका मानिसहरूका लागि ल्याइएको हो।'

'बहस, संवाद र असहमति लोकतन्त्रको महत्पूर्ण हिस्सा हो', अर्को ट्वीटमा उनले भनेका छन्, 'तर सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउनु वा सामान्य जनजीवनलाई असर पार्ने काम ठीक होइन।'

'नागरिकता संसोधन कानुन २०१९, दुवै सदनबाट जोडदार बहुमतसहित पारित भएको' स्मरण गराउँदै उनले 'उक्त कानुनमा भारतको वर्षौं पुरानो सर्वस्वीकार्यताको संस्कृति, सद्भाव, करुणा र भाइचारा समाहित रहेको' दाबी गरेका छन्।

नयाँ कानुन आएसँगै चर्किएको आन्दोलनमा उत्तरपूर्वी भारतमा ६ जनाको ज्यान गइसकेको छ। आन्दोलन राजधानी नयाँ दिल्लीसम्म फैलिएपछि मोदीले मुख खोलेका हुन्।

आइतबार दिल्लीको जामिया मिलिया इस्मालिया विश्वविद्यालयमा विद्यार्थीहरूले गरेको आन्दोलनमा प्रहरीले धरपकड गरेको विषयमा मोदी सरकारको चर्को आलोचना भइरहेको छ।

पछिल्लो ट्वीटमा मोदीले भनेका छन्, 'यो एकता, भाइचारा र शान्ति कायम राख्नुपर्ने समय हो। नचाहिँदो हल्लाबाटबाट बच्न म सबैलाई अपील गर्छु।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.