|

काठमाडौं : नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने संकल्पसहित राष्ट्रिय महोत्सवका रूपमा मनाउन लागिएको नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरिएको छ।

काठमाडौंको दशरथ रंगशालामा बुधबार साँझ एक भव्य समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष २०२० अभियानको शुभारम्भ गरेकी हुन्। उक्त समारोहमा स्वागत मन्तव्य राख्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यो कार्यक्रमलाई प्रस्थान विन्दुका रुपमा लिएको र आगामी दशक पर्यटन दशकका रुपमा  मनाउने तयारीमा सरकार रहेको बताए।       

बुधबार नै सातवटै प्रदेशका मुख्य स्थानमा भ्रमण वर्ष २०२० को शुभारम्भ गरिएको छ। प्रदेश-१ मा विराटनगरको रंगशाला, प्रदेश-२ मा जानकी मन्दिर परिसर, प्रदेश-३ मा चितवनको सौराहा, गण्डकी प्रदेशको लेकसाइट पोखरा, प्रदेश-५ को बर्दियाको ठाकूरद्वार, प्रदेश-६ को सुर्खेत बुलबुल ताल र सुदूरपश्चिम प्रदेशको धनगढीमा उद्घाटन गरिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ।

सरकारले नेपाल भ्रमण मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउनले लक्ष्यसहित प्रवद्र्धनका साथै पूर्वाधार विकासलाई सँगै अघि बढाएको छ। यसअघि सरकारले सन् १९९८ मा नेपाल भ्रमण वर्ष मनाएर पाँच लाख विदेशी पर्यटक ल्याउने लक्ष्यसहित प्रवद्र्धनात्मक गतिविधि सञ्चालन गरिएको थियो।

त्यस्तै, सन् २०११ लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो। सात वर्षपछि उक्त लक्ष्य सन् २०१७ मा भेटिएको थियो। सन् २०१७ मा १० लाख पर्यटक नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डको तथ्यांक छ। सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

यसैगरी नेपाल भ्रमण वर्ष २०२० देशभर विभिन्न कार्यक्रम गरि देशका विभिन्न ठाउँमा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकलाई विभिन्न तरिकाले स्वागत गरिएको छ। यसैक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत नेपाल भित्रिने पर्यटकलाई खादा लगाएर स्वागत गरियो।

शुभारम्भअघि सरकारी निकाय, निजी क्षेत्र, पर्यटनसँग सम्बद्ध संघसंस्था, सामाजिक क्षेत्र, स्वयंसेवी समूह संगठन, सामाजिक संघसंस्थाको ब्यानर र पोसाकसहित मार्चपास गरिएको थियो। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विशेष प्रस्तुति थियो। नेपालको ख्यातिप्राप्त कलाकारको सांगतिक प्रस्तुति  सांस्कृतिक विविधता झल्किने मौलिक प्रस्तुति राखिएको छ। देशका विभिन्‍न ठाउँमा सांस्कृतिक कार्यक्रम तथा मौलिक नृत्य समेत प्रस्तुत गरिएको थियो।

भ्रणम वर्षकै अवसरमा अवसरमा जिल्ला तथा नगरस्तरिय आयोजक समितिले काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले विदेशी पाहुनालाई खादा लगाएर स्वागत गरे।

यता, नेपाल भ्रमणको स्वागतार्थ पोखराको पर्यटकीय क्षेत्र महेन्द्र गुफामा प्रभातफेरी गरिएको थियो। वर्षको सुरुको दिन चितवन आएका पर्यटकलाई भरतपुर विमानस्थलमा भव्य स्वागत गरिएको छ। भरतपुर महानगर प्रमुख रेनु दाहालले विमानमार्फत चितवन भित्रिने पर्यटकलाई फूलमाला तथा खादा लगाएर स्वागत गरेकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.