|

  • रमेश पराजुली-

सिन्धुपाल्चोक : क्रसर उद्योग र जिल्ला विकास समितिबीचको विवादले कुलो मर्मत नहुँदा इन्द्रावती किनारमा रहेको २५ सय रोपनी खेत सिँचाइ सुविधाबाट बञ्चित भएको छ। जसका कारण धेरै जमिन बाँझै छ, थोरै भू-भागमा लगाएको तोरी, गहुँ र आलु पनि सुकेर सोत्तर बनेको स्थानीय केदार माझीले जानकारी दिए ।

इन्द्रावती नदीको बाहुनेपाटी किनारबाट एक किलोमिटर कुलो खनेर वर्षौँदेखि खेतमा सिँचाइको व्यवस्था गरिएको थियो ।

क्रसर उद्योगले जथाभावी नदी उत्खनन् गर्दा भत्केको कुलो मर्मत गर्न जिविसले रोकेको छ। जसका कारण बाँडेगाउँ–४ र ५ का खेतमा सुख्खा लागेको छ। भत्किएको कुलो क्रसर उद्योगले मर्मत गरिदिने वचन दिएको थियो। जिविसले नै मर्मत गर्न दिएको छैन।

कुलो खन्ने बहानामा क्रसरले जथाभावी बालुवा, गिट्टी र ढुंगा संकलन गर्न लागेकोले त्यसो गर्न नदिएको जिविसका आन्तरिक लेखा अधिकृत अनिरुद्र नेपाल बताउँछन् । एक–दुई दिनमा बस्ने सांसदसहितको बैठकपछि समस्या समाधान हुने उनको विश्वास छ। 

त्यसक्षेत्रको खेतबाट उब्जाउ हुने अन्नबाट करिब डेढ सय परिवारले गुजारा चलाउँदै आएका छन्। जसमध्ये ७० घरधुरी माझीको छ।

जथाभावी उत्खनन्का कारण नदीको किनार नै भासिएकाले कुलो मर्मत गर्न कठिन हुने देखिएको छ। ‘भासिएको किनारमा तारजाली प्रयोग गरेर उकास्ने र खेतमा सिँचाइ पुर्‍याउने स्थानीयको लक्ष्य जिविसका कारण पूरा नहुने भएको छ,’ स्थानीय निर्मल माझीले भने।

कुलो मर्मतका लागि अनुमति दिन जिविसलाई पटकपटक अनुरोध गर्दा पनि नटेरेको उनको आरोप छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.