|

म्याग्दी : म्याग्दीको सदरमुकाम बेनीमा परम्परागतरूपमा लाग्दै आइरहेको माघे संक्रान्ति मेलाको जर्गेना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रर्वधन गर्न माघे संक्रान्ति मेला लाग्ने भएको छ।

नेपाल भ्रमण वर्ष २०२० लाई म्याग्दीमा शुभारम्भ गर्ने गरी आगामी पुस २९ देखि माघ १ गतेसम्म खुल्लामञ्‍च बेनीमा मेला आयोजना गरिने छ। म्याग्दी उद्योग वाणिज्य संघअन्तरगतको महिला उद्यम विकास समितिको मूल आयोजनामा हुने मेलाका बारेमा जानकारी गराउन बुधबार आयोजित पत्रकार सम्मेलन दिइएको हो। जिल्लाका सबै स्थानीय तहका कला र संस्कृतिको प्रदर्शन, स्थानीय उत्पादनका स्टल राखिने मूल संयोजक एवं महिला उद्यम विकास समितिका सभापति सुनिता केसीले बताइन्।

‘मेलाको तयारी सुरु भएको छ, सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरेका छौ’ अध्यक्ष केसीले भनिन्। उनका अनुसार नेपाल भ्रमण वर्षलाई लक्षित गरी खुल्ला लोकगीत प्रतियोगिता, स्थानीय जातजातिको कला र संस्कृतिको संरक्षण सहितका कार्यक्रम प्रमुख आर्कषण रहेको उनले बताइन्।

लोकगीतमा जिल्लाका सबै स्थानीय तहलाई समेट्ने गरी जिल्लाका सबै स्थानीय तहबाट समेत सहयोगको प्रतिबद्धता प्राप्त भएको बताइन्। मेलाको अवसरमा सदरमुकाम बेनीमा जातिय भेषभुषासहित बजार परिक्रममा, एकल नृत्य प्रतियोगिता, महिला तथा पुरुष अन्धनिशान, छेलो, लठो तान्ने प्रतियोगितासमेत गरिने जनाइएको छ। मेलामा आर्कषक नृत्य मयूर नाचलाई समेत ल्याउन पहल भइरहेको बताउँदै मेला अवधिभर महिला उद्यमीको उत्पादनलाई बिक्री वितरणको विषेश व्यवस्थासमेत रहेको जनाइएको छ।

‘उद्योग, व्यापार र कलाको विकास गरौँ संस्कृतिको संरक्षण गदैं पर्यटन प्रवद्र्धन गरौँ’ भन्ने मूल नाराका साथ आयोजना गरिने मेलामा जिल्लाभित्रका पर्यटकीय, धार्मिक लगायत सम्रग क्षेत्रलाई समेटेर फोटो प्रर्दशनरीसमेत गरिने छ। कुल ९ लाख ३५ हजारको आयव्यय प्रस्तुत गरिएको कार्यक्रममा करिव ४० हजार बचत गर्ने लक्ष्य रहेको कोषाध्यक्ष सिर्जना भट्टचनले बताइन्।

पत्रकार सम्मेलनमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्य, निर्वतमान अध्यक्ष जीवनकुमार विश्वकर्मा, द्धितिय उपाध्यक्ष राजेश शाक्य, महासचिव लिलाराम गौतमलगायत महिला उद्यमको उपस्थिती रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.