|

जनकपुरधाम : नदी तथा खोला उत्खनन बन्द गराएपछि व्यावसाय नै ठप्प भएको भन्दै जनकपुर अंचल ट्रक व्यावसायी संघले प्रदेश २ सरकारविरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। संघले जनकपुरस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी बालुवा उत्खनन खुल्ला नगरे प्रदेश सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ।

संघका अध्यक्ष बाबुसाहेव झाले दिलिप हत्याको निहुँमा सबै खोला उत्खनन बन्द गराएर जनता र ट्रक व्यावसायीलाई दुःख दिने काम प्रशासनले गरेको आरोप लगाए। उनले नदी खोलाबाट बालुवा गिट्टी झिक्न रोक लगाएपछि धनुषामा संचालित ३ सय टिपर, १ सय ट्रक र हजारौं कामदार बेरोजगार बनेको बताए। उनले भने, ‘टिपर घरमा थन्केको छ। चालक तलब भत्ता माग्छन्। कहाँबाट तिर्ने ? सरकारले ट्रक व्यावसायीको यो पीडा बुझ्नुपर्छ।’

‘ट्रक व्यावसायी पनि चुरे दोहनविरुद्धमा छौं’, उनले भने, ‘तर धनुषाको नदीनालामा बालुवा उठाउन बन्द गराएर चुरे संरक्षण हुन सक्दैन। चुरे संरक्षणका लागि त चुरेसँग नजिकका नदीनाला र पहाडी जिल्लामा दोहन रोक्नुपर्छ। बाढीले बगाएर ल्याएको बालुवाले पुरिएर धनुषाका नदीको सतह उठेकोछ। उत्खनन नगरे बाढी गाउँ पसेर झन क्षति नै पुर्‍याउँछ' उनले भने।

अध्यक्ष झाले क्रसर उद्योगलाई संचालनको अनुमति दिने तर संचालन गर्दा अवैध भन्दै बन्द गराउने प्रशासनको रबैया ठीक नभएको बताए। उनले भने, ‘सुरुमै मापदण्ड हेर्नुपर्छ। यदि मापदण्ड अपनाएको छैन भने उत्खनन गर्ने ठेक्का दिन हुँदैन। तर ठेक्का लगाएर अवैध भन्न मिल्छ?’ उनले ६ प्रदेशमा क्रसर संचालनमा रहेको र नदी-नाला समेत उत्खनन गर्न दिएको भन्दै प्रदेश २ मा मात्र उत्खनन रोकेर प्रदेश सरकार ठीक नगरेको पनि बताए। 

नदी उत्खनन बन्द भएपछि सबभन्दा बढी समस्यामा उपभोक्ता परेको उनले बताए। १४ हजारमा पाइने प्रतिटिपर बालुवा अहिले २८ हजारमा उपभोक्ता किन्न बाध्य बनेको उनको भनाई छ। गतपुस २५ गते धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलिप महतोलाई क्रसर माफियाले हत्या गरेको थियो। उनको हत्यामा संलग्न चुरियामाई बालुवा प्रशोधन केन्द्रका संचालक विपिन महतो सहितका ५ जना पक्राउ परिसकेका छन्।

यो घटनापछि प्रदेश सरकारको निर्देशनमा स्थानीय प्रशासनले आठै जिल्लाका खोला उत्खनन बन्द गराएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.