पार्टी बैठकलाई मिडियामा लाइभ गर्न प्रस्ताव

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा महासविच विष्णुप्रसाद पौडेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका छन्। 

बुधबारदेखि राष्ट्रिय सभागृहमा जारी बैठकमा महासचिव पौडेलले संगठनात्मकसँगै विधान संशोधन प्रतिवेदन पनि पेश गर्दैछन्। महासचिव पौडेलले प्रस्तुत गरेको १९ पृष्ठ लामो संगठनात्मक प्रतिवेदनमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नयाँ पार्टीमा गुट–उपगुट झनै झांगिएको उल्लेख गरिएको छ। 

‘हामीले अझै पनि पार्टीको आन्तरिक जीवनलाई विधिसम्मत, संस्थागत र कमिटी प्रणालीमा आधारित बनाउन सकेका छैनौं’, प्रतिवेदनमा भनिएको छ, ‘पूर्व समूहको मानसिकता र पूर्व समूहका पनि गुटका प्रशाखाहरू पार्टीसामू चुनौती बनेर उपस्थित भएका छन् । पार्टीमा गुटबन्दी घोषित र प्रत्यक्ष बन्दै गएको छ । अराजकता र अनुशासनहीनताको समस्या झाँगिदै गएको छ।’

महासचिव पौडेलले पार्टीमा गुटबन्दी संस्थागत नै हुने अवस्थामा पुगेकोतर्फ पनि चिन्ता जनाएका छन्। ‘हाम्रोसामू गुटबन्दीलाई संस्थागत गर्ने र पार्टीलाई गुटहरूको फेडरेशन बनाउने वा गुटबन्दीलाई समाप्त गर्ने र संस्थागत ढंगले तय गरिएका विधि, नीति र निर्णयका आधारमा पार्टीलाई एकताबद्ध तुल्याउने भन्ने प्रश्न ज्वलन्त बनेर उपस्थित भएको छ’, प्रतिवेदनमा अगाडि भनिएको छ, ‘हामीले गुटबन्दीलाई निर्ममतापूर्वक अस्वीकार गर्नुपर्दछ।’ 

महासचिव पौडेलको प्रतिवेदनमा क्रान्ति गर्नुभन्दा क्रान्तिका उपलब्धि जोगाउन कठिन हुने कुराबाट नेकपाले पाठ सिक्नुपर्ने पनि उल्लेख छ। 
‘दुनियाँको अनुभवले बताएको छ, क्रान्ति सम्पन्‍न गर्नुभन्दा क्रान्तिका उपलब्धि जोगाउनु कठीन हुन्छ । हाम्रो पुस्ताले नेपाली कम्युनिष्ट आन्दोलनलाई यो उचाईमा ल्याइपुर्‍याएको छ’, प्रतिवेदनमा अगाडि भनिएको छ, ‘राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थानपनामा विचार, संगठन र आन्दोलनको क्षेत्रबाट नायकको भूमिका निर्वाह गरेको हाम्रो पार्टीले अब प्राप्त उपलब्धिहरूलाई जोगाउँदै विकास, समृद्धि, सामाजिक न्याय, जनताको जनवाद र समाजवादतर्फको यात्रा सुनिश्चित गर्नुछ। हामीले हेक्का राख्नुपर्दछ, हाम्रो परीक्षा यही नयाँ जिम्मेवारी पुरा गर्ने सन्दर्भमा हुँदैछ।’

पार्टी एकताका सबै प्रक्रिया तीन महिनामा सक्ने भनिएकोमा अझै नसकिएकोतर्फ प्रतिवेदनमा चिन्ता जनाइएको छ। ‘पार्टी एकतालाई समयमा पूरा नगर्दा चुनावी तालमेल र पार्टी एकीकरणले जनतामा पैदा भएको अभूतपूर्व एवं असाधारण उत्साहलाई गतिमा र गतिलाई शक्तिमा बदल्न सकिएन। तर अब हामीले एकीकरणका बाँकी काम सम्पन्न गर्ने विषयलाई सर्वाधिक प्राथमिकता दिनुपर्दछ’, अगाडि भनिएको छ, ‘एकता प्रक्रियामा विलम्ब हुनुको पछाडि आपसी सम्बन्धको सम्वेदनशीलताले पनि काम गरेको छ। हामीले त्यसलाई ठीक ढंगले सम्बोधन गरेर अघि बढ्नुपर्दछ।' 

मिडियाले अफ्ठ्यारो

महासचिव पौडेलले पार्टी बैठकका कुराहरु गलत बाटोबाट मिडियालाई दिँदा समस्या भएको प्रतिवेदनमा उल्लेख गरेका छन्। 

‘पार्टीमा भएको छलफल र निर्णयका सम्बन्धमा अनधिकृत, तोडमरोड गरिएका र गलत सूचना सम्प्रेषण गर्ने रोगबाट पार्टी आक्रान्त बनेको छ । पार्टीको केन्द्रीय सचिवालय समेत यस प्रवृतिबाट अलग रहनसकेको छैन’, प्रतिवेदनमा अगाडि भनिएको छ, ‘यस्तो प्रवृति बारम्बार दोहोरिने हो भने हामी बैठकमा मिडियाको प्रत्यक्ष र नियमित उपस्थितिका लागि तयार हुनुपर्ने अवस्थामा पुग्नेछौँ।’ 

महासचिव पौडेलले गलत समाचार सम्प्रेषणलाई रोक्नुपर्ने बताएका छन्। ‘गलत समाचार सम्प्रेषण हुनुभन्दा बैठकमा मिडियाको नियमित उपस्थिति र प्रत्यक्ष प्रशारण मन्जुर गर्नु उचित हुनेछ’, प्रतिवेदनमा भनिएको छ, ‘के हामी यसका लागि तयार हुने हो? हामी बैठकका औपचारिक निर्णय र आवश्यक विषयहरू आधिकारिक ठाउँबाट सार्वजनिक गर्ने प्रणालीमा कायम रहनुपर्दछ । पार्टीको प्रतिष्ठामा क्षय हुनेगरी अनधिकृत र गलत ढंगले सूचना सम्प्रेषण गर्ने प्रवृतिलाई नियन्त्रण गर्नु पर्दछ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.