देश कम्युनिष्टमय तर प्रदेश २ मा घिस्रिँदैछ

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको एक वर्षपछि बसेको केन्द्रीय कमिटी बैठकमा नेताहरुले आक्रोश पोख्ने क्रम जारी छ। दुईतिहाइको बहुमत पाएर पनि नेकपा नेतृत्वको सरकारले जनताका माग सम्बोधन गर्ने गरी काम गर्न नसकेको भन्दै आलोचना भइरहेको छ।

शुक्रबार तेस्रो दिन जारी बैठकमा प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले प्रतिवेदन पेश गर्दै पार्टी नेतृत्वदेखि सरकारसम्मको कडा शब्दमा आलोचना गरे। उनले पार्टी केन्द्रले प्रदेशको जिम्मा लगाए पनि हातखुट्टा बाँधेर छाडिदिए जस्तो भएको गुनासो गरे।

साहले मन्त्री र प्रधानमन्त्रीले काम भन्दा धेरै बोल्ने गरेको भन्दै तीखो आलोचना गरे। ‘प्रधानमन्त्री र मन्त्रीहरुले विकास निर्माणबारे सार्वजनिक ढङ्गले बोलेको कुरा  समयमा पुरा नहुँदा हामी अप्ठयारोमा परेका छौँ’, उनले भने, ‘हाम्रा नेतृत्वप्रतिको विश्वास र नैतिक आधार गुम्दै गएको छ । यस्ता वचनवद्धता जो जसको पालामा भएपनि काम जसरी पनि पूरा गर्ने संस्कार स्थापित गर्न जरुरी छ ।’

अध्यक्ष साहले प्रदेश र संघका केही मन्त्रीहरुको काम हेर्दा सरकार नै अरु कसैको जस्तो लाग्न थालेको गुनासो गरे। ‘केही मन्त्रीहरुको काम कारवाही र व्यवहार हेर्दा हाम्रो सरकार हो कि होइन? भन्ने दुविधा उत्पन्न हुने गरेको छ । जुन पार्टीको लागि पक्कै सकरात्मक छैन’, उनले भने, ‘यस्ता शैली र कार्य सञ्चालन सच्याउनसमेत अनुरोध छ । सिमाना क्षेत्रमा हाम्रा पार्टीका जनता असुरक्षित छन्। उनीहरुसहित आम जनताको सुरक्षाको विशेष व्यवस्थाको पहल गर्नसमेत आग्रह गर्दछु ।’

देश कम्युनिष्टमय भए पनि प्रदेश २ का कम्युनिष्ट पार्टी घिस्रिरहेको उनले बताए। ‘आज कम्युनिष्ट आन्दोलन उत्कर्षमा पुगेर देश कम्युनिष्टमय छ तर बिडम्बना कम्युनिष्ट आन्दोलनको आधारभुमि रहेको प्रदेश २ मा पार्टी रक्षात्मक अवस्थामा घिस्रिन बाध्य छ’, उनले अगाडि भने, ‘यो अवस्था सृजनामा प्रतिक्रियावादी शक्ति मात्र कारक नभई मूलभुत रुपमा हाम्रै पार्टीले पनि जनताको माग एवम् परिस्थिति अनुरुप आफ्नो नीति, निर्णय र कार्य सम्पादन गर्न नसक्नु तथा सही नेतृत्व विकासमा उदासिन हुनुजस्ता कारण रहेको छ ।’

पार्टी संङ्कटमा पर्दा अराजकता मचाउने र विद्रोहसमेत गर्ने तथा परिस्थिति सहज र पार्टी बलियो हुँदा पार्टीमा फर्किएर नेतृत्वको नजिक भई सत्ताको स्वाद लिने समस्या रहेको उनले सुनाए। ‘पार्टी अफ्ठ्यारोमा पर्दा भाग्नेहरु सजिलो हुँदा फर्किएर नेतृत्वको अस्वभाविक चाकरी गर्ने समस्या बढ्दैछ’, उनले भने, ‘स्थानीय नेतृत्वमा देखिएको अवसरवादी प्रवृतिका कारण पनि प्रतिक्रियावादीसँग दृढतापुर्वक निरन्तर संघर्ष गर्न नसकेर हामी कमजोर भएका छौँ ।’

अध्यक्ष साहले आफूले पद छाड्दा पनि जबरजस्ती फर्काइएको भन्दै गुनासो गरे। ‘हामीले आफ्नो पद छोड्न पनि नपाउने र काम पनि गर्न नदिने स्थितिको अन्त्य कहिलेसम्म हुन्छ ?,’ उनले प्रश्न गरे, ‘अध्यक्ष कमरेडबाट जान्न चाहन्छु ।  अन्तरसंघर्षको आवरणमा पार्टीको प्रतिष्ठा नै ध्वस्त पार्नेगरी भइरहेको आपराधिक गतिविध गर्ने गराउने नेताहरुलाई कारवाही होस भन्ने आग्रह गर्दछौँ ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.