प्रधानमन्त्रीको घोषणा बोलीमै सीमित

|

डडेल्धुराः प्रस्तावित ७५० मेगावाट क्षमताको बहुप्रतिक्षित पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको माग गर्दै अभियान चलाइरहेको 'बोलन्या थली' धनगढीले ‘सडक संगीत संघर्ष’ कार्यक्रम आयोजना गरेको छ।

पश्चिम सेती जलविद्युत आयोजना छिटो बनाउन माग गर्दै दबाबमुलक कार्यक्रम गर्दै आएको बोलन्या थली धनगढीले बुधबार साँझ कीर्तिपुरमा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो। यो संस्थाले पश्चिम सेती निर्माणका लागि दबाब दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाईलाई सात सय ५० पैसा बुझाउँदैछ।

सदूरपश्चिमका कलाकारहरुको प्रस्तुती रहेको कार्यक्रममा उठेको रकममध्ये ७५० पैसा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्रमार्फत् बुझाउने बोलन्या थली धनगढीका संयोजक यादव जोशीले बताए।

‘कार्यक्रममा सहभागीहरूले स्वतःस्फूर्त रुपमा रकम दिँदा ५ हजार ३४५ रुपैयाँ संकलन भएको छ। संयोजक जोशीले भने, ‘त्यसमध्ये सांकेतिक विरोधस्वरूप हामी ७५० पैसा प्रधानमन्त्रीज्यूलाई ज्ञापनपत्रमार्फत् बुझाउँछौं।’  पश्चिम सेती आयोजना बन्ने चर्चा वर्षौंदेखि भइरहे पनि काम सुरु हुन सकेको छैन।

देउवाको गृहजिल्लामा ओलीको बोली : पश्चिम सेती वर्तमान सरकारले नै बनाउँछ

गत फागुनमा डडेल्धुरा पुगेका प्रधामन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले नै पश्चिम सेतीको काम सम्पन्न गराउने दाबी गरेका थिए। तर, प्रधानमन्त्री ओलीले दाबी गरेको एक वर्ष बित्दा समेत पश्चिम सेतीको काम अघि बढ्ने सुरसार कतै नदेखिएपछि यहाँका त्रिलोचन भट्टले तीनै सरकार मिलेर पश्चिम सेतीको निर्माण कार्य अघि बनाउनुपर्ने बताएका थिए।

भदौमा डडेल्धुरामा आयोजित एक कार्यक्रमा मुख्यमन्त्री भट्टले पश्चिम सेती जलविद्युत् आयोजना निर्माण गर्ने भनेको वषौँ बितिसकेको भन्दै संघीय सरकारले पश्चिम सेतीलाई सुरु गरे आफूहरू साथ दिन तयार रहेको धारणा राखेका थिए।

मुख्यमन्त्रीको प्रस्ताव : तीनै तहका सरकार मिलेर ‘पश्चिम सेती’ बनाऔँ

आयोजना बनाउन दबाब दिने उद्देश्यले कीर्तिपुरमा ‘आश्वासनका २८ वर्ष : पश्चिम सेती कहिले बन्छ?’ ‘हिजो आशा मर्‍यो, आज जवानी मर्दैछ, भोलि सपना मर्नेछ,’ लगायतका नारासहित साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको हो।

सांस्कृतिक कार्यक्रममा अराज केशव, चक्र बम, विष्णु भट्ट, टंक तिमिल्सेना, चेतन बोहरा, महेश बीसी, सन्तोष रोकायालगायतका कालाकारहरु सहभागी थिए। उनीहरुले निःशुल्क प्रस्तुती दिएका थिए।

दबाबमुलक कार्यक्रमअन्तर्गत सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा पत्रमञ्जुसा राख्ने र ‘पश्चिम सेती कहिले बन्छ?’ भनेर प्रश्न गरिएका पत्रहरु प्रधानमन्त्रीलाई बुझाउने कार्यक्रम समेत तय गरिएको छ। पश्चिम सेती सपनाका एक लाख चिठीहरु पत्रमञ्जुसामा संकलन गरी प्रधानमन्त्रीलाई दिने तयारीमा रहेको बोलन्या थली धनगढी अभियानका संयोजक जोशीले बताए।

यसअघि बोलन्या थलीले पश्चिम सेतीका लागि माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल कार्यक्रम गरिसकेको छ।

साथै बोलन्या थलीले आइतबार नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेर पश्चिम सेतीका लागि आवाज उठाउन आग्रह गरेको थियो। भेटमा देउवालाई अनुरोधपत्रसमेत बुझाइएको थियो। देउवाले पश्चिम सेतीबारे संसदमा कुरा उठाउने प्रतिबद्धता जनाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.