फिचर

जसले युट्युबबाट हुने आम्दानी स्रष्टालाई बाँड्छन्

स्रष्टामाथिको आर्थिक अन्याय रोक्न रोयल्टी अभियान

चैत ३, २०७६

    काठमाडौं : आजभोलि युट्युबमा फरक-फरक स्रष्टाका प्रशस्तै रचना देख्‍न र सुन्‍न पाइन्छ। आकर्षक प्रस्तुति र सुन्दर रचनाहरू युट्युबमा राखेमा राम्रै आम्दानी पनि गर्न सकिन्छ। 

    सिर्जनाको पहिलो हकदार स्रष्टा नै हुनुपर्छ। तर, यहाँ वास्तविक स्रष्टाको सिर्जनाबाट आउने कमाइ स्रष्टाको हातमा पुगेको छैन। स्रष्टामाथि भएको अन्याय रोक्ने अभियानस्वरूप गोपी दवाडीले 'रचनावाचन' युट्युब च्यानल सञ्‍चालन गर्दै आएका छन्।

    विसं. ०६८ बाट सुरु भएको यो च्यानलमा विभिन्‍न स्थानमा हुने साहित्यिक कार्यक्रममा स्रष्टा स्वयंले वाचन गरेका गजल, कविता, मुक्तक र अन्य रचनाका भिडियो राखिन्छ।

    साहित्यमा लागेका अधिकांश युवा पढ्दै गरेका छन्। उनीहरू आर्थिकरूपमा स्थापित भइसकेका हुँदैनन्। आर्थिकरूपमा केही असहज अवस्‍थामा रहे पनि युवाहरूको सिर्जनाशील क्षमता भने कुनै कमी छैन। जस्तोसुकै अभावमा पनि सिर्जना भन्‍ने कुराको खडेरी पर्दैन।

    'यहाँ एउटा स्रष्टाको रचना अर्कोले युट्युबमा हालेर आम्दानी गरिरहेका छन्, जुन वास्तविक स्रष्टाका लागि अन्याय हो, यो अन्याय स्वीकार्य हुन सक्दैन', दवाडी भन्छन्, स्रष्टाको रचनाको भिडियो आफ्नो च्यानलमा हालेपछि जति कमाइ हुन्छ। त्यसको १५ प्रतिशत काटेर उहाँहरूलाई नै सम्मानसाथ दिने गरेका छौं। यतिसम्म कि कुन भिडियोले कति आम्दानी गर्‍यो, त्यसको हिसाब पनि स्रष्टालाई दिन्छौं।'

    गत शनिबार कुञ्ज नाटक घरमा रचनावाचनले युट्युबमा हालेको रचनावापत आएको आम्दानीलाई रोयल्टीस्वरूप स्रष्टालाई उपलब्ध गरायो। च्यानलले विभिन्न स्थानमा हुने साहित्यिक कार्यक्रममा स्रष्टा स्वयमले वाचन गरेका गजल, कविता, मुक्तक तथा अन्य रचनासम्बन्धी भिडियो राख्दै आइरहेको छ। रचनावाचनले ५०० रुपैयाँभन्दा बढी रकम संकलन भएका भिडियोका स्रष्टालाई रोयल्टीबापतको रकम उपलब्ध गराउँदै आएको दवाडी बताउँछन्।

    रचनावाचनको सुरुवात

    साहित्यमा लागेका अधिकांश युवा पढ्दै गरेका छन्। उनीहरू आर्थिकरूपमा स्थापित भइसकेका हुँदैनन्। आर्थिकरूपमा केही असहज अवस्‍थामा रहे पनि युवाहरूको सिर्जनाशील क्षमता भने कुनै कमी छैन। जस्तोसुकै अभावमा पनि सिर्जना भन्‍ने कुराको खडेरी पर्दैन। 

    काठमाडौंमा प्राध्यापन पेसा अंगालिरहेका दवाडी गजल लेख्थे। समयसँगै उनी अष्ट्रेलिया उडे सन् २००९ मा। त्यसअघि उनी हरेक हप्ता नेपालमा गजल विधालाई अघि बढाउन श्रजकहरूको पहलमा खोलिएको अनाममण्डलीमा आबद्ध थिए। अष्ट्रेलिया पुगे पनि उनलाई नेपालको साहित्यिक माहोलले तान्न छाडेन।

    नेपालमा हुने साहित्यिक कार्यक्रमको झलक युट्युबमा हेर्थे उनी। उनको आत्मा उडेर नेपाल आइपुग्थ्यो। उनी नेपालको साहित्यिक माहोल र नेपालका घटना युट्युबमै हेर्थे। विस्तारै साहित्यिक सामग्री युट्युबमा हेर्न थालेपछि उनले पनि युट्युबको खाता बनाए।

    सन् २०१२ मा नेपाल आएपछि उनी पुन: आफ्नो संस्था अनाममण्डली पुगे। त्यहाँ भएका गजल वाचन खिचेर उनी पुन: कर्म क्षेत्रतिर लागे। उनले ती भिडियो युट्युबमा हाले। साथीहरूले खुवै तारिफ गरिदिए। २०१२ बाट आधिकारिक रुपमा युट्युबमा श्रजकले गजल वाचन गरेका भिडियो हाल्न थालियो। त्यसअघि व्यक्तिगत प्रयोजनको लागि हालिन्थ्यो।

    प्रविधिको विकाससँगै साहित्यको स्तरवृद्धिमा परिवर्तन हुन जरुरी छ। स्रष्टाको चिन्तन, अभिव्यक्ति शैलीले पनि स्रष्टा अगाडि बढिरहेका छन्। अब पनि ताली र दुई कप चिया खुवाएर स्रष्टाहरूलाई अन्यायमा पार्नु हुँदैन।

    केही समयपछि युट्युबबाट पनि आम्दानी हुन्छ भन्‍ने थाहा पाए दवाडीले । केही दिन व्यक्तिगत भिडियोले पैसा कमाउन थालेपछि उनको दिमागमा आफ्नो विगतको रिल फनफनी घुम्यो। जुनबेला उनी विद्यार्थी थिए। साहित्यमा लागेका थिए।

    त्यसबेलाको अभाव र अहिले साहित्यमा लागेका विद्यार्थी स्रष्टाको अभाव सम्झिए। साहित्य सिर्जना गरी वाचन गरिएका विषयलाई भिडियोमार्फत केही आम्दानी हुन्छ भने किन नगर्ने भन्‍ने लाग्यो उनलाई। तर, यसका लागि उनी एक्लैले सक्ने अवस्था थिएन, उनले आफ्ना साथीहरू सम्झिए।

    नेपालबाट साथ

    आफ्नो योजनालाई विस्तृत रूप दिने सोच बनाएपछि उनले गजलकार जय गौडेललाई सहयोगको लागि अपिल गरे। गौडेलबाट सक्दो सहयोगको आश्वासन पाएपछि उनले अरू व्यक्तिसँग पनि सहयोग मागे। तत्कालीन अवस्थामा अष्ट्रेलियामा जितेन्द्र मल्ल, सुरेन्द्र दवाडी, निरज जोशी र दिनेश ज्ञवालीसँग छलफल गरे। 

    'यसबाट हामीले आम्दानी गर्ने कुनै सोच राखेका छैनौं, यो हाम्रो साहित्यप्रतिको लगाव हो, आफ्नोतर्फबाट साहित्यको स्तरवृद्धिमा केही गर्न सकिन्छ कि भन्‍ने साथीहरूको समान सोचको समूह हो।' 

    साहित्यिक विषय भएपछि नामकरण गर्ने कुरा आयो। सुरूवातमा 'गजलवाचन' भनेर राख्‍ने कुरा थियो। तर, शीर्षकले अन्य विधालाई नसमेटेपछि 'रचनावाचन' राख्ने सुझाव आयो। जुन कुरा दवाडीलाई मनपर्‍यो। फलस्वरूप सन् २०१५ बाट औपचारिक रूपमा 'रचनावाचन' युट्युब च्यानलको सुरुवात भयो।

    'रचनावाचन'मा केही व्यक्तिहरू आबद्ध छन्। जय गौडेल, ज्ञानु विद्रोही, कपिल अञ्जान, सरोज घिमिरे लगायतले काठमाडौंलगायत देशका विभिन्‍न क्षेत्रमा हुने साहित्यिक कार्यक्रमको सामग्री संकलन गर्छन् ।

    उनी आफ्ना साथीहरूप्रति कृतज्ञता राख्छन्, 'आफ्नो कामले हिँड्ने कपिल अन्जान रचनावाचनका लागि भिडियो संकलन गरिदिनुहुन्छ। जय, ज्ञानु सरोजजीहरूले व्यस्त समयका बाबजुद पनि समय दिनुहुन्छ, यो आफैँमा साहित्यप्रतिको अनुराग हो भनिठानेको छु।' अष्ट्रेलियामा अन्य साथीहरूले  वर्तमान  समयमा  आफ्नो  व्यस्तताले नभ्याए पनि लामो समय भिडियो उत्पादन, सम्पादन, कार्यक्रम सञ्चालन अनि लगानीमा पनि सहयोग गरेको दवाडी सम्झन्छन्।  उनी भन्छन्, 'समयले साथ दिएसम्म उहाँहरु पुन यो कार्यमा संग्लन हुनुहुनेछ।'  यद्यपी, अहिले दवाडी एक्लै छन्। 

    गुणस्तरीय साहित्यको सम्मान

    प्रविधिको विकाससँगै साहित्यको स्तरवृद्धिमा परिवर्तन हुन जरुरी छ। स्रष्टाको चिन्तन, अभिव्यक्ति शैलीले पनि स्रष्टा अगाडि बढिरहेका छन्। अब पनि ताली र दुई कप चिया खुवाएर स्रष्टाहरूलाई अन्यायमा पार्नु हुँदैन।

    यहाँ जो कोही व्यक्तिले हालेको भिडियोमा युट्युबले राखेको शर्त पूरा गर्‍यो भने उसले आम्दानी गर्छ। 'मनिटाइज'को अवधारणा युट्युबले ल्याएको छ।

    नेपालमा पछिल्लो क्रममा स्तरीय साहित्य लेख्‍नेहरू आएका छन्। उनीहरूको साहित्यप्रतिको लगावलाई अझ अगाडि बढाउन रोयल्टी प्रदान गरिएको दवाडी बताउँछन्। उनी थप्छन्, 'रचनाहरू सकेसम्म स्तरीय बनाएर आम मानिससम्म पुर्‍याउने लक्ष्य हो, त्यो रचनावापत जति आम्दानी हुन्छ, त्यो सबै स्रष्टाको हातमा जानुपर्छ।'

    सिर्जनाको दुरुपयोग नहोस्

    रचनावाचन कानुनीरूपमा खोलिएको संस्था होइन। आफ्नो दैनिकीबाट मिलेको फुर्सदमा गरिएको साहित्यमाथिको अनुराग मात्र हो। उनी भन्छन्, 'यसबाट हामीले आम्दानी गर्ने कुनै सोच राखेका छैनौं, यो हाम्रो साहित्यप्रतिको लगाव हो, आफ्नोतर्फबाट साहित्यको स्तरवृद्धिमा केही गर्न सकिन्छ कि भन्‍ने साथीहरूको समान सोचको समूह हो।' 

    'रचनावाचन'ले दिने रोयल्टीले हरेक स्रष्टाको जीवन चल्छ भन्‍ने नलागे पनि कमसेकम साहित्यप्रतिको उत्प्रेरित हुन् भन्‍ने लागेको दवाडी बताउँछन्। उनी भन्छन्,
    'पैसाले केही नगर्ला तर यसले कमसेकम स्रष्टाले जहाँ पायो त्यही आफ्नो सिर्जनाको दुरुपयोग भएको छ कि छैन भनेर मूल्यांकन त गर्नुहोला भन्‍ने मेरो बुझाइ हो।'

    अन्त्यमा, सामाजिक मूल्य र मान्यता नै धराप

    अचेल युट्युबमा अनेक भिडियो लिंक उपलब्ध छन्। बढ्दो युट्युब क्रेज र युट्युब हेरेबापत् सम्बन्धित खातावालाको आम्दानीको स्रोत पनि भइरहेको छ।

    नेपाल जस्तो देशमा आम्दानी गर्ने आकर्षक स्रोत बनेको छ युट्युब। तर, भ्युज बढाउने नाममा खातावालाले हाल्ने भिडियो कन्टेनमाथि पनि कहिलेकाहीँ बहस हुने गरेका छन्। युट्युबमा युवाको आकर्षण बढ्दो छ। यहाँ जो कोही व्यक्तिले हालेको भिडियोमा युट्युबले राखेको शर्त पूरा गर्‍यो भने उसले आम्दानी गर्छ। 'मनिटाइज'को अवधारणा युट्युबले ल्याएको छ।

    युट्युबमा उपलब्ध हुने भरपर्दो नियमन निकाय हामीकहाँ छैन। जसले गर्दा पैसाको पछाडि लागेर यहाँ पारिवारिक, सामाजिक मूल्य र मान्यता ध्वस्त हुने प्रवृत्ति बढ्दै गएको छ। यहाँ कोही कसैको मृत्यु होस् या सम्बन्धविच्छेद। युट्युब चलाउने साथीहरू क्यामेरा तेर्साउन सुरु गर्छन्। त्यति मात्र होइन सेलिब्रेटीबारे अनेक शीर्षक राखेर भिडियो सार्वजनिक गरिदिन्छन्। पैसा कमाउन नैतिकता नै धरापमा राखेर गरिने यस्ता हर्कतले समाजलाई कस्तो प्रभाव पार्छ। यो सोचनीय विषय भएको छ।

राजु पौडेल

पत्रकार पौडेल थाहा खबरमा कार्यरत छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]