|

काठमाडौं : भारतबाट धेरै विजुली आयात गरेर लोडसेडिङ अन्त्य गरेको आरोप लागेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्यसको प्रतिवाद गरेका छन्।

सोमबार नेपाल उद्योग वाणिज्य महासंघले 'औद्योगिक विकासको लागि उर्जा' विषयक अन्तर्क्रियामा उद्योगीहरुले भारतबाट अत्यधिक विजुली ल्याएर लोडसेडिङ अन्त्य गरिएको भनेपछि कुलमानले त्यसको खण्डन गरेका हुन्।

स्वतन्त्र उर्जा उत्पादक संघका अध्यक्ष शैलेन्द्र गुरागाई लोडसेडिङ न्युन हुनु केही उपलव्धी भएता पनि आयातीत विजुलीकै भरमा रमाउन नहुने बताएका थिए। 'विजुलीमा परनिर्भरता बढ्दै गएको छ, अहिले बागमती किनारका सुकुम्वासी केही समय अपार्टमेन्टमा बस्न पाएको भनेर रमाए जस्तै हामी रमाएका छौं आयातीत विजुलीका भरमा, तर स्वदेशी उत्पादन बृद्धि गर्न विगतमा योजना कार्यान्वयन तर्फ ध्यान पुगेको देखिएको छैन' गुरागाईले भने।

कार्यक्रममा अन्तिम वक्ताको रुपमा कुलमान घिसिङले लोडसेडिङ अन्त्य र कार्ययोजना अनुसार काम नभएको भन्ने विषयमा आपत्ती जनाए। 'अहिले पुरै परनिर्भर भयो भन्ने कुरा आएको छ, राष्ट्रियता नै खतरामा परेजस्तो कुरा गर्न थालियो, राष्ट्रियता अँध्यारोमा रहने हो कि उज्यालोमा?' कुलमानले भने।

कुलमानले भारतबाट गत वर्षको भन्दा करिब ४०/४५ मेगावाट मात्रै बढी विजुली किनेको र स्वदेशी व्यवस्थापनका कारण लोडसेडिङ अन्त्य भएको बताएका छन्। 'गत वर्ष पनि ३४५ सम्म विद्युत आयात भएको थियो, त्यो बेलामा कार्यकारी निर्देशकले जम्मा ३४५ मेगावाट विजुली किनेर १२ घण्टामा विजुली राख्न सफल भयौ भनेर लेख्नुभएको छ, त्यसो भए अहिलेको अवस्था के हो त?' कुलमान अलि आक्रोशित रुपमा प्रस्तुत भए। उनले निश्चित २/३ महिनाको लागि मात्रै विजुली आयातको सम्झौता गरिएको र उत्पादन बृद्धिको लागि प्राथमिकताको साथ काम गरिएको दाबी गरे। 'उर्जा संकट निवारण योजना अनुसार धेरै काम गरेका छौँ सबै काम एकैसाथ अघि बढेको छ, केही गरेर विद्युत आयात मात्रै बढ्यो भन्नु भएन' घिसिङले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.