|

  • चिरञ्जिबी घिमिरे

दमक : विद्यार्थीलाई देखेपछि गाडी नरोक्ने तथा दुर्व्यवहार गर्ने गरेको भन्दै झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसका विद्यार्थीहरुले पूर्वपश्चिम राजमार्गमा एक घण्टा चक्काजाम तथा सवारी साधनमा तोडफोड गरेका छन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत क्याम्पस मोडमा शुक्रबार मध्याह्न चक्काजाम गरिएको हो। त्यसक्रममा चक्काजामको अवज्ञा गर्न खोजेको भन्दै विद्यार्थीहरुले तीनवटा गाडी तोडफोड गरेका छन्। विद्यार्थीहरुले मे १ च ३९५१ र मे १ च १७३८ नम्बरको मिनी ट्रक तथा को १ ख ४०८८ नम्बरको बसमा तोडफोड गरेका हुन्। तोडफोडका क्रममा मिनी ट्रकका चालक कृष्ण न्यौपाने घाइते भएका छन्। दायाँ खुट्टा भाँचिएका न्यौपानेको दमकस्थित निम्स नेशनल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सवारी साधनहरुले विद्यार्थीलाई देख्ने बित्तिकै गाडी नरोक्ने तथा रोकिहालेमा पनि दुर्व्यवहार गर्ने गरेकाले चक्काजाम गर्नु परेको अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य कुलबहादुर बस्नेतले बताए। 'हामीले पटक-पटक प्रशासनमा जानकारी गराउँदासमेत हाम्रो मागको सुनुवाई भएन त्यसैले आन्दोलनस्वरुप चक्काजाम गरेका हौँ,' उनले भने।

अहिले सवारी सुचारु भइसकेको छ। आफूहरुको माग सुनुवाई नभए थप आन्दोलन गर्ने चेतावनी दिँदै आएको अखिल क्रान्तिकारी र व्यवसायीबीच प्रहरीको रोहबरमा छलफल भइरहेको छ।

क्याम्पसमा पूर्वमा झापाको दूबे तथा पश्चिममा मोरङको पथरीसम्मबाट विद्यार्थीहरु अध्ययनका लागि आउने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.