|

कञ्चनपुर : सामाजिक सञ्जाल फेसवुकमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं ४ का क्वारेन्टिनमा बसेका व्यक्तिहरुलाई प्लाष्टिको चामलको भात खुवाइन लागेको अफवाह फैलाईएपछि चामल परीक्षणका लागि आइतवार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी पठाईएको छ।

फेसबुकमा प्लाष्टिको चामल भन्दै फोटो सहितका स्टाटस लेखिएपछि कालिका माध्यमिक विद्यालय र राष्ट्रिय माध्यमिक विद्यालयमा बस्दै आएका भारतबाट फर्केर आएका क्वारेन्टिनमा बस्दै आएका व्यक्तिहरुले जनप्रतिनिधि विरुद्ध नारा लगाउदै चामल परीक्षणको माग गरेका थिए।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत खगेन्द्र भारती, इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक धर्मेन्द्ररावल, वडा अध्यक्ष ज्ञान बहादुर विष्ट, नगर प्रवक्ता जगतबहादुर सिंह र सञ्चारकर्मी लगायतको रोहवरमा चामलको नमुना परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी पठाइएको छ।

 चामलको नमुना परीक्षणका लागि पठाएका छौं अधिकृत भारतीले भने, ‘त्यसको नतिजा के आउँछ त्यसकै आधारमा कार्वाही प्रकृया अगाडी बढाइन्छ।‘

 सामाजिक सञ्जालमा अफवाह फैलाउने व्यक्तिहरु विरुद्ध समेत प्रचलित कानुनबमोजिम कारबाही हुने उनले बताए। 

वडा अध्यक्ष ज्ञानबहादुर बिष्टले चामलमा मिसावट वा अन्य त्रुटि भेटिए चामल उपलव्ध गराउने कम्पनी माथि कार्वाहीका लागि प्रकृया अगाडी बढाईन बताए। चामलको गुणस्तरमा त्रुटि नदेखिए सामाजिक सञ्जाल फेसबुकमा अफवाह फैलाउने र जनप्रतिनिधलाई गालीगलौज गर्ने माथि कार्वाही प्रकृया अगाडी बढाईने उनको भनाई रहेको छ।

शीतल खाद्य उद्योग पर्साले उत्पादन गरेको एप्पल ब्राण्डको जीरा मसिनो चामल महेन्द्रनगरको देव केएसटीले राना टेर्डस झलारीमार्फत क्वारेन्टिनमा आपूर्ति गरेको हो। वडाका दुवै क्वारेन्टिनमा भारत फर्केर आएका एक सय जना व्यक्तिलाई राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.