|

काठमाडौं :  काठमाडौं महानगरको घट्टेकुलो मैतीदेवी क्षेत्रमा डेंगु ज्वरोका बिरामी बढेको पाइएको छ। 

घट्टेकुलो र मैतीदेवी क्षेत्रबाट पछिल्लो समय ज्वरो आएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारको लागि जाने बिरामी समेत धेरै रहेको बताइएको छ।

अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार ती क्षेत्रबाट पछिल्लो समय एकै खालका लक्षण भएका धेरै बिरामी उपचारका आएका र परीक्षण गर्दा डेंगु पुष्टि भएको बताए। ‘यहाँ आएका बिरामीको अवस्था र बिरामीहरूले त्यस ठाउँको स्थिति बारे भन्दा डेंगु त्यस क्षेत्रमा राम्रोसँग फैलिएको पुष्टि हुन्छ’ उनले भने।

डा पुनका अनुसार टेकु अस्पतालमा अहिले आउने बिरामी कडा खालको लक्षण देखिए पछि स्थानीय मेडिकलमा परीक्षण गरेर खाएको औषधि खादा पनि सञ्चाे नभएपछि कोभिड परीक्षण गर्न आउँदा परीक्षण गर्दा डेंगु पुष्टि भएको बताए।

‘स्थानीय मेडिकल, क्लिनिकमा परीक्षण गरेर खाएको औषधिले नभएपछि कोभिडको शंका गरेर परीक्षण गर्न मात्रै यहाँ आउने त्यस क्षेत्रमा धेरै हुनुहुन्छ र परीक्षण गरिएका मध्ये धेरैमा डेंगु देखिएको छ, जसले गर्दा धेरै बिरामीहरू हाम्रो सम्पर्कमा अझै छैनन् जस्तो छ’ उनले भने।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक तथा मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले पछिल्लो समय घट्टेकुलो र मैतीदेवी क्षेत्रमा डेंगु संक्रमण फैलिएको काठमाडौं महानगरपालिकाले जानकारी गराएको र त्यहाँको पछिल्लो अवस्था हेर्दा पनि डेंगु संक्रमण बढेकोले हाल त्यस क्षेत्रमा डेंगु नियन्त्रणको लागि औषधि छर्कने तयारी भएको बताए।

‘त्यस क्षेत्रमा डेंगुका बिरामी बढ्न थालेपछि हामीले त्यस क्षेत्रको सबै ठाउँमा औषधी छर्कने तयारी गरेका छौँ’ डा पौडेलले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.