|

जुम्ला : असोज अन्तिम साता आएको वर्षासँगै बाढीपहिरोले राष्ट्रिय प्रशारण लाइनमा (नेशनल ग्रिड) अवरुद्ध भएको छ। बाढी पहिरोका कारण क्षति पुगेपछि विद्युत आपूर्ति अवरुद्ध भएको  हो। दैलेख, कालिकोट हुँदै जुम्ला राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ।

बाढीपहिरोले जुम्ला र कालिकोट खण्डमा ९० वटा पोल र तारमा क्षति भएपछि दुई सातादेखि विद्युत आपूर्ति नभएको नेपाल राष्ट्रिय विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेश दत्त रावलले बताए। उनले भने, ‘क्षति भएको स्थानमा मर्मतको काम भईरहेको छ।’

दुई सातादेखि नेशनल ग्रिड अवरुद्ध भएपछि स्थानीय उत्पादन घुघुत्ती र जाल्पादेवी साना जलविद्युत आयोजनाको बिजुलीले जुम्ला सदरमुकाम खलंगामा काम चलाइरहेको जनाएको छ। तर यही बिजुली पनि २४ सै घण्टा नियमित आपूर्ति हुने अवस्था छैन।

टोल, क्षेत्र र क्लष्टर मिलाएर बिजुली आपूर्ति गर्ने गरिएको प्रमुख रावलले बताए। उनले भने, ‘स्थानीय स्तरमा उत्पादित बिजुली थोरै क्षमताको छ। यो बिजुलीलाई अस्पताल, सुरक्षा निकायलगायत विशेष ठाउँलाई प्राथमिकता दिएको छ भने सर्वसाधारणका घरमा पनि कम्तीमा मोबाइलसम्म चार्ज गर्न होस् भनेर पनि आपूर्ति गर्ने गरिएको छ।’

क्षति भएको ठाउँमा बिजुलीका पोल गाड्ने र तार जोड्ने काम निरन्तर भईरहेको छ। सडक पनि अवरुद्ध भएकाले मर्मतका लागि आवश्यक सामान ओसारपसारमा समस्या भएको छ। उनले भने‚ ‘हप्ता दिनभित्र नेशनल ग्रिडबाट आपूर्ति हुने गरी मर्मत भईरहेको छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.