'आफ्नो देशमा ८० प्रतिशत मत खसाल्नुस्, अनि मतदाता सचेतना सिकाउनुस्'

|

काठमाडौं : प्रधामन्त्री केपी शर्मा ओलीले युरोपियन युनियनलाई निर्वाचन पर्यवेक्षण प्रतिवेदन सच्याउन सुझाब दिएका छन्। आइतबार राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले काठमाडौंमा गरेको पर्यवेक्षण मूल प्रतिवेदन लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले इयुलाई प्रतिवेदनबारे पुनर्विचार गर्न सुझाब दिएका हुन्। प्रधानमन्त्री ओलीले इयुको प्रतिवेदनले नेपाललाई हेपेको महसुस भएको बताए।

युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन अनुगमनसम्बन्धी प्रतिवेदनमा नेपालको संविधानले व्यवस्था गरेको आरक्षणमा परिमार्जन गर्नुपर्ने आवश्यक रहेको र निर्वाचन आयोगले स्वच्छ रूपमा काम गर्न नसकेको उल्लेख गरेको थियो। 

सोही विषयलाई लिएर प्रधानमन्त्री ओलीले भने, 'एउटा राष्ट्रको हिसाबले हेपिएको र अपमानित भएको महसुस गरेको छु। प्रतिवेदन सच्याउने सन्दर्भमा पुनर्विचार गर्न इयुलाई आग्रह गर्दछु। म उहाँहरूलाई भन्न चाहन्‍छु  हेप्‍ने काम नगर्नुस्।'

विभिन्न विदेशी शक्तिहरूले नेपालको हालसम्मको पछौटेपन, गरिबीलाई हेरेर जे पनि गरे हुन्छ भन्‍ने मानसिकता बोकेको भन्दै प्रधानमन्त्री ओलीले इयुको प्रतिवेदन सोही मानसिकताको उत्पादन भएको बताए। उनले इयुले सार्वजनिक गरेको प्रतिवेदनले निर्वाचन अनुगमन प्रतिवेदनमा उल्लेख गरेका कुराले नेपालको सार्वभौम सत्तामाथि अपमान  गरेको बताए।

'इयुले नेपालका उपलब्धिहरूलाई 'अण्डरमाइन' गरेको, हेपेको हो। नेपालले त्यत्रा उपलब्धिहरू लिएको छ', प्रधानमन्त्री ओलीले भने, 'सानातिना कमजोरीहरू होलान्, तर नेपाली जनताले लामो समय बलिदानीपूर्ण संघर्ष गरेका छन्। त्यसबाट प्राप्त गरेका उपलब्धि र यस्ता परिस्थितिहरू पार गर्दै  आएका छन्।'

नेपालको सन्दर्भमा मतदाता सचेतना कमी रहेको स्वीकार गर्दै प्रधानमन्त्री ओलीले मतदाता सचेतनाबारे नेपाललाई चुनौती दिनभन्दा पहिले ८० प्रतिशत मत आफ्नो देशमा खसाल्न चुनौती दिए। भने, 'हामीलाई चुनौती दिनुभन्दा अगाडि ८० प्रतिशत मत खसालेर आउनुपर्‍यो हाम्राअगाडि। हामीकहाँ त ८० प्रतिशतले मतदान गर्छन्।' लोकतन्त्रप्रति र आफ्नो मतप्रति नेपालीहरू निकै सचेत रहेको दाबी गर्दै प्रधानमन्त्री ओलीले २० प्रतिशत मत मतदाता विदेश रहेका लगायतका विभिन्न कारणले नखसेको बताए।

नेपाली जनताको लोकतन्त्रप्रतिको सजगता असाधारण रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले थोरै मत खस्दा पनि लगभग ७० प्रतिशत मत नेपालमा खसाल्न सफल भएको बताए।

प्रधानमन्त्री ओलीले निर्वाचन अनुगमन तथा अरु नाममा नेपाली जनताका उपलब्धि र सामाजिक प्रबन्धलाई नहोच्याउन आग्रह गरे। 'हाम्रा मित्रहरूलाई भन्न चाहन्छु। हाम्रो सामाजिक प्रबन्ध, हाम्रा उपलब्धिलाई अपमान गर्ने, होच्याउने काम नगरियोस् म सजग गराउन चाहन्छु', प्रधानमन्त्री ओलीले भने, 'युरोपियन युनियनको अनुगमन समूहका नाममा आएको प्रतिवेदन सच्याउला भनेको थप जिद्दिपूर्ण अभिव्यक्ति देखियो, दु:खको कुरा हो त्यो।'

कुनै धर्मग्रन्थको कसम खाएर धर्म निरपेक्षताको कुरा गरेको जस्तो नभएर नेपालमा साँच्चिकै धर्मनिरपेक्षताको अभ्यास गरिएको प्रधानमन्त्री ओलीले दाबी गरे।

पर्यवेक्षकको आवरणमा आएकालाई फर्काएको प्रतिशोध

निर्वाचन अनुगमनका नाममा आएका केही व्यक्तिले धर्म प्रचार तथा अन्य कामहरू गरेका कारण फर्काउनुपरेको भन्दै त्यसको प्रतिशोध इयुले प्रतिवेदनमा साँधेको बताए। 'विभिन्‍न अनुगमनका नाममा आउनुभयो। १/२ जनालाई हामीले फिर्ता पठाउनुपर्‍यो। अनुगमनका नाममा आउने र धर्म प्रचार गर्ने', प्रधानमन्त्री ओलीले भने, 'अरू व्यापार/खेती यो कुरा चल्दैन यहाँ। त्यसकारण फिर्ता पठाइयो। त्यसको प्रतिशोध प्रतिवेदनमा लिने होइन। प्रतिवेदन प्रतिवेदन हो।' प्रतिवेदनलाई प्रतिवेदनकै रूपमा प्रस्तुत गर्न ओलीले आग्रह गरे।

प्रतिवेदनबारे अझै पनि गम्भीरता अपनाउन ओलीले इयुलाई आग्रह गरेका छन्। नेपालले सबैसँग मिलेर काम गर्न चाहेको भन्दै लोकतन्त्रका लागि नेपाली जनताले कोहीभन्दा कम संघर्ष नगरेको उनले दाबी गरे। 'फेरि पनि आग्रह गर्न चाहन्छु यसप्रकारको कुरामा गम्भीरता अपनाउनुस्। यो ग्लोबलाइजेसनको जमानामा लोकतन्त्र सबैलाई चाहिएको छ। हामीलाई कम चाहिएको छैन', उनले भने, 'हामी कसैभन्दा कम चाहिँ होइन। अरू चाहिँ छैन भन्दैनौँ। हामीले पनि लोकतन्त्रका लागि न कम संघर्ष गरेका छौँ न कम प्रतिबद्धता गरेका छौँ। हामी एकदम प्रतिबद्ध छौँ हामी मिलेर काम गर्न चाहन्छौँ।'

लोकतान्त्रिक ढंगले सामाजिक न्याय र समानता कायम गर्न चाहेको भन्दै प्रधानमन्त्री ओलीले महिला सहभागिता बढाएर देखाउन चुनौती दिए। 'हामीले सिकाएको हो भन्‍ने पनि फेरि कतिपयले भन्नुहोला। सिकाएको भन्‍ने हो भने हाम्रोभन्दा १/२ प्रतिशत भए पनि महिला सहभागिता त गराउनुस् पहिले', प्रधानमन्त्री ओलीले भने, 'हामीले गरेका हौंँ हामी लोकतन्त्र, लोकतान्त्रिक अभ्यासमा कमी छैनौँ। अब हामी दुनियाँसँग मिलेर विकास र समृद्धिको यात्रामा अगाडि बढ्न चाहन्छौँ हाम्रो अर्को उद्देश्य छैन।'

पढ्नुहोस् :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.