समाज

पानीजहाज सञ्चालनबारे प्राविधिक अध्ययन शुरु

फागुन २४, २०७५

    काठमाडौं : नेपाल र भारतले संयुक्त रुपमा विभिन्न चार जलमार्गमा पानीजहाज सञ्चालन गर्नेबारेमा संयुक्त अध्ययन शुरु गरेको छ। शुक्रबार सम्पन्न दुई देशका उच्च अधिकारीको बैठकले पानीजहाज सञ्चालनका लागि चार मार्ग सिफारिश गर्दै प्राविधिक अध्ययन गर्ने निर्णय गरेको छ। 

    पानीजहाज हुने मार्गहरूमा साहेबगञ्ज-मरीहरी-पानी ट्यांकी र काँकडभिट्टा, हल्दिया-वाराणसी-सुनौली र भैरहवा, कालुघाट-वाल्मिकीनगर र गण्डक ब्यारेज र साहेबगञ्ज-भीमनगर कोशी ब्यारेज रहेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ। 

    सरकारले नारायणी नदीको गण्डक बाँध हुँदै पानीजहाज ल्याउने गरी केही दिन पहिले पानीजहाज कार्यालयसमेत स्थापना गरिसकेको छ। बैठकमा दुई देशका संयुक्त प्राविधिक टोली बनाएर नारायणी नदीमा जल यातायात सञ्चालनसम्बन्धी प्राविधिक अध्ययन तत्काल शुरु गर्ने सहमति भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

    भारतीय अधिकारीले गण्डक नदी हुँदै नेपालले पानीजहाजबाट सामान आयात निर्यात गर्न सक्ने बताउँदै आएको छ। बैठकमा नेपालको पक्षबाट जल तथा ऊर्जा आयोगका सहसचिव एवं टोली प्रमुख माधव बेल्वासेको नेतृत्वमा दश उच्च सरकारी अधिकारी सहभागी भए। यस्तै भारतीय सरकारको तर्फबाट अन्तरदेशीय जल यातायात प्राधिकरणका उपाध्यक्ष प्रविर पाण्डेको नेतृत्वमा आठ जनाकाे सहभागिता थियाे। नेपाल र भारतका संयुक्त अध्ययन टोलीले नारायणी तथा कोशी नदीमा जल यातायातको सम्भावना तथा पूर्वाधार विकास सम्बन्धमा यही फागुन २० देखि २२ गतेसम्म संयुक्त स्थलगत अध्ययन गरेको थियो।

    बहुपक्षीय प्राविधिक सहायता परिचालन गरी जलमार्गको विस्तृत अध्ययन गर्ने सहमति भएको छ। संयुक्त प्राविधिक समितिमा नेपाल र भारतका तीन7तीन सदस्य रहनेछन्। प्राविधिक समितिले नारायणी नदीमा जल यातायात सञ्चालनसम्बन्धी प्राविधिक अध्ययन तत्काल शुरु गर्ने सहमतिसमेत जनाएको छ। बैठकमा नेपाली पक्षले भारतले गंगा नदीमा विकास गरिरहेको जल यातायात मार्गमा नेपालमा दर्ता भएका पानीजहाज सञ्चालनको सम्भावनाका सम्बन्धमा चासो राखेको र भारतीय पक्षले सोसम्बन्धी कानुनी प्रावधान अध्ययन गरी जानकारी गराउने वचन दिएको छ।

    जल यातायात सञ्चालनका लागि प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि गर्न कार्यक्रमसमेत सञ्चालन गर्ने विषयमा सहमति जुटेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ चैत २३ देखि २५ गतेसम्म गरेको भारत भ्रमणका क्रममा जारी भएको संयुक्त वक्तव्यको बुँदा नं ९ मा नेपाल र भारतबीच जलमार्गले जोड्ने विषय समेटिएको थियो। सोही वक्तव्यको आधारमा यसअघि दुई पटक जलमार्गको विषयमा दुई देशका अधिकारीबीच छलफल भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]