|

  • मेगराज खड्का-

रुकुम : जिल्लाको रन्मामैकोटको हान्पालेकमा चर्चित एउटा नृत्य छ दाजे चिपचिप। दाजे चिपचिप भनेको खाम मगर भाषाको शब्द हो । यसको नेपाली अर्थ स्याल कुखुराको खेल भन्ने हुन्छ। यो खेलमा गाउँका धेरै महिलाहरु कुखुरा बन्छन् भने एउटा पुरुष स्याल बन्छन्। स्यालले कुखुराहरु तानेर सिध्याएपछि खेल समापन हुन्छ।

स्याल बनेका पुरुषले छेउछेउबाट कुखुरा बनेका महिलालाई तानेर अर्को छुट्टै ठाउँमा पुर्‍याउँछन्। एक पटक समुहबाट तानिएकी महिला फेरि उक्त समुहमा जोडिन पाउँदिनन्।

यो खेलमा पुरुष देखेपछि महिलाहरु भाग्छन् भने पुरुषले स्यालले कुखुरा देखेपछि पक्रेजस्तै प्रतिक्रिया देखाउँछन्। कुखुराको नाइके माउले अन्य कुखुराहरुलाई स्यालले पक्रिन खोज्दा रोक्ने प्रयास गर्छ। कुखुराको माउलाई शुरुमै स्यालले पक्रिन पाउदैन अन्य कुखुराहरु सकिए भने मात्र अन्त्यमा माउलाई झम्टिन पाउँछ।

स्याललाई कुखुरा तान्न नदिन सबै महिलाहरु एक आपसमा हात जोडेर वा एकआपसमा कपडाले बाँधेर अडिएका हुन्छन्। यो खेल पुर्वी रुकुमका मगर समुदायहरुले चाडपर्वका क्रममा वशेष गरी खेलेर रमाइलो गर्छन्। यस खेल महिला पुरुषको बल प्रयोगको खेल पनि हो।

रुकुममा महोत्सवहरुमा यो खेल आर्कषणको केन्द्र समेत हुने गरेको छ। यो खेल खेल्ने क्रममा पुरुषले महिलाहरुको शरीर तथा हात समाएर तान्ने गर्छन्। यो चलन पुरापूर्वकालदेखि मान्दै आएको स्थानीय भरत पुनमगर बताउँछन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.