डडेल्धुरा : जिल्ला प्रशासन कार्यालय, डडेल्धुरामा सामाजिक दूरी कायम गरिएको छैन। बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि सरकार दोस्रोपटक लकडाउन थप्ने मनस्थितिमा पुगेको समयमा प्रशासन कार्यालयमा भने सामाजिक दूरी सामान्य रुपमा पनि देखिएन।
मंगलबार ३:२० बजेतिर जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा कार्यालयको हाताभर सेवाग्रहीहरुको भीडभाड थियो। कोही सेवाग्राहीहरू नागरिकता फाँटको झ्यालमा कोचाकोच हुने गरी उभिएका थिए त कोही मुल ढोकासम्म भुइँमै बसेका देखिन्थें तर, सामाजिक दूरी भन्ने कतै देखिएको थिएन।
कोरोना नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सेवाग्राहीका लागी न्यूनतम मापदण्ड पनि पूरा गरेको देखिँदैन। कार्यालयमा सेवा लिन आउने व्यक्तिहरुलाई सेनिटाइजर प्रयोग गर्न लगाउने, मास्क अनिवार्य लगाउनुपर्ने र सेवा लिँदा सामाजिक दूरी कायम गराउने कुनै पनि संकेतहरु देखिएको छैन।
कार्यालयले सेवाग्राहीहरुलाई सामाजिक दूरी कायम गरि नराख्दा सेवा लिने ठाउँमा अनावश्यक भीडभाड हुने गरेको र सेवा प्रवाह गर्न पनि समस्या भइरहेको एक कर्मचारीले बताए। सामाजिक दूरी नहुँदा कर्मचारीहरु पनि जोखिममा रहेका छन्।
४/५ दिनदेखि सेवा ग्राहीको यस्तै भिडभाड छ। सामाजिक दूरी कायम गरी सेवा प्रवाह गराउनतर्फ प्रशासनले कुनै चासो देखाएको छैन। जिल्लाको भागेश्वर गाउँपालिका ३ बोकटाका संजय राना बिहान १० बजे नागरिकता बनाउनका लागि कार्यालयमा पुगे। तर, लामो समय कुरेपछि मात्रै उनको नागरिकता बन्यो।
अधिकांश व्यक्तिहरू नयाँ नागरिकता लिने र नागरिकताका प्रतिलिपि लिनका लागि जिल्ला प्रशासन कार्यालयमा आउने गरेका छन्।
बजारमा मास्क प्रयोग नगर्ने व्यक्तिलाई प्रहरीले कारबाही गर्दै राजस्व संकलन गरिरहेको छ तर जिल्ला प्रशासन कार्यालयभित्रको भीडभाडमा कयौ व्यक्तिहरु मास्क प्रयोग नगरि बसेका थिए। सामाजिक दूरी कायम नगराउने र नगर्नेलाई जिल्ला प्रशासन कार्यालयले संक्रमण रोग ऐन २०२० बमोजिम कारबाही गर्ने सूचना जारी गरेको छ तर आफैँले उक्त सूचनाको बर्खिलाप गरेको देखिन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।