|

काठमाडौं : शुक्रबार दिउँसो १ बजेतिर पशुपतिनाथ पारीको मृगस्थली वन पुग्दा युवाहरु 'बम बोले बम, गाँजा भयो कम', भन्दै नारा लगाइरहेका थिए। मन्दिरका पेटीमा पेटीमा उनीहरु गाजा बेच्ने बाबाहरुलाई गाजा कम भयो भनेर यस्तो नारा लगाइरहेका थिए। मन्दिर प्रांगण र वरपर साधुहरु हातमा गाजा देखाएर मोलतोल गरिरहेका थिए। त्यस्तै गाजा भरेका चुरोटको ३० रुपैयाँदेखि १ सयसम्ममा बेचिरहेका थिए। त्यसको मूल्य अझै बढिरहेको थियो।

महाशिवरात्री मनाउन भारतका बिभिन्न ठाउँबाट आएका र नेपालका साधुको भेषमा रहेकाहरु गाजाको व्यापारमा मस्त थिए। जुन ठाउँमा गाजाको व्यापार भइरहेको थियो त्यहीँ वरपर नेपाल प्रहरीका अधिकृत र जवानहरुको उपस्थिति पनि बाक्लो थियो। नेपाल प्रहरीले हरेक वर्ष शिवरात्रीमा पशुपति क्षेत्रमा गाजाको व्यापार हुन नदिने भने पनि मृगस्थली वनको हावामा समेत गाजा मिसिने गरी धुँवा उडाइरहदा नेपाल प्रहरी र सशस्त्र प्रहरी मुकदर्शक बनेर हेरिरहेका थिए।

युवाहरु गाजा बेच्ने जोगीको वरीपरी झुम्मिएका थिए। कोही सुल्पामा त कोही चुरोटमा हालेको गाजाबाट धुँवा उडाइरहेका थिए। यस्ता दृश्य पशुपतिनाथ मन्दिरको पारी किँरातेश्वर मन्दिर परिसर र जंगलमा जताततै छ्यापछ्याप्ती थियो।

महाशिवरात्री, शिवजीको प्रसाद मानिए पनि हिन्दुरहरुको पवित्र धार्मिक स्थल पशुपतिनाथ परिसरमा जोगीहरुको खुलम् खुला गाजाको व्यापारले भने शिवजीप्रतिको आस्था जगाउनुभन्दा पनि सामाजिक र वातावरणीय प्रदुषण बढाउने, नियम कानुनको खिल्ली उडाउने र धर्मप्रति नै अनास्था जगाउने काम गरिरहेको थियो। देशकै पाहुना बनेर आएका गाजा व्यापारी जोगीहरुको जगजगीले मन्दिर दर्शन गर्न आएका भक्तजनहरुलाई समेत समस्यामा पारिरहेको थियो।

दर्शनार्थीको दूर्दशा

'यो लाइन बस्नेको वास्ता भएन। आउँदो सालदेखि यता नआउने सोच बनाइरहेको छु। यति कष्ट गरेर नि के दर्शन गर्नु?' जनकपुरका श्यामप्रसाद यादवको भनाइ हो यो। विगत लामोसमयदेखि शिवरात्रीको दिन पशुपतिनाथको दर्शन गर्न आउँदा पछिल्ला केही वर्ष दर्शनार्थीलाई सास्ती बढ्दै गएको बताउने उनले आउँदो सालदेखि नआउने कि भन्ने निर्णय सुनाए।

दिउँसो ३ बजे हामीले लाइनमै भेटिएका श्यामप्रसादले लाइनमा बसेको ९ घण्टा भएको बताए। उनले २ घण्टामा पशुपतिनाथको दर्शन गर्ने पालो आउला कि भनेर पानी पनि नखाएर लाइन बसेको बताए। उनले पशुपतिमा दर्शनार्थीलाई सही व्यवहार र छिटो दर्शन गर्ने व्यवस्था नभएको बताए। उनले गुनासो पोखे, 'यसपाली त सुधार भयो होला कि भनेर आएको कहिल्यै सुधार भएन।'

त्यस्तै गुनासो थियो काठमाडौं कोटेश्वरकी मधु सुवेदीको। 'अध्याँरोमै आएका हामी। अहिलेसम्म यस्तो छ लाइन', मधुले भनिन्, 'चक्कर लागेर एकछिन पेटिमा बसेँ फेरि अलिकति लाइन सर्‍यो अनि लाइनमा बसे।' उनले समाचारमा ३ घण्टामा दर्शन गरेर फर्किन सकिने सुनेको बताइन्, तर त्यस्तो नभएको उनको गुनासो थियो। उनले विगतमा १-२ घण्टामै पालो आउने गरेको तर अहिले घण्टौं लाइन लाग्नुपर्ने बताइन्।

भारत गोरखपुर सरगौवाकी ७० वर्षीया बासमती बाबुलाल पनि लाइनमै भेटिइन्। आफन्तसँग पशुतपतिनाथको दरश्न गर्न आएकी थिइन्। उनले भनिन्, 'पशुपतिनाथको दर्शन गरेर पुण्य प्राप्त गर्न भनेर काठमाडौं आएको हुँ।' उनी ७ घण्टा लाइन लागेपछि स्वयंसेवकले वृद्ध वृद्धाहरुलाई 'छिटो' दर्शन गर्ने व्यवस्था गरिरहेको बताइरहेका थिए।

लाइनमा लागेकाहरु पशुपति क्षेत्र विकास कोषप्रति आक्रोशित देखिन्थे। उनीहरु 'कोषको कार्यालयमा आगो लगाउनुपर्छ' भन्दै आक्रोश पोखिरहेका थिए।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव गोविन्द टन्डनले ७ लाख भक्तजनले पशुपतिनाथ मन्दिरको दर्शन गर्ने बताएका थिए। त्यस्तै थप ६ लाख मान्छे पशुपति क्षेत्रमा आउने उनको अनुमान थियो। मन्दिरभित्रै पुगेर पशुपतिनाथको दर्शन गर्ने र बाहिरैबाट दर्शन गर्नेको भीडलाई सम्हाल्न नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाका साथै अनुसन्धानका कर्मचारी पनि खटिने टन्डनले जानकारी दिएका थिए।

प्रहरीलाई पेलान

दशौं लाख मानिसको भीडलाई व्यवस्थित गर्न पशुपति क्षेत्रमा नेपाल प्रहरीलाई खटाइएको थियो। त्यस्तै सशस्त्र प्रहरी र नेपाली सेनाले पनि सुरक्षा दिइरहेका देखिन्थे। प्रहरीलाई भीड व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको थियो। मान्छेहरु जताततैबाट भित्र छिर्न खोजिरहेका थिए। लाइनमा बस्नुभन्दा पेलेरै भएपनि भित्र छिर्न कोशिस गर्नेहरुका कारण प्रहरीलाई भने थप गाह्रो परेको थियो।

दर्शनार्थीको भीडले भन्दा पनि रमिता हेर्नेको भीडलाई व्वस्थापन गर्न हम्मेहम्मे परेको प्रहरी प्रतिष्ठानबाट तालिम गर्दै गरेका प्रहरीलाई ल्याएर पशुपतिमा भीड व्यवस्थापन गर्न आएका प्रहरी नायव निरीक्षक अमोद कान्त झाले बताए। 'दर्शन गर्न आउने भन्दा पनि रमाइलो हेर्ने, भित्र छिरेर जेरिपुरी खान जानेको संख्या बढी छ। जबरजस्ती भित्र छिर्न खोज्ने भएकोले उनीहरुलाई रोक्न समस्या भएको छ', उनले भने, 'बेलाबेलामा अलिकति रिसाएजस्तो गर्नुपर्ने, अलिकति धकेलेजस्तो गर्नुपर्ने भइरहेको छ।'

मन्दिर दर्शन गर्नेको संख्या ७ लाख बताइएको  थियो। जो मन्दिर पस्ने विभिन्न ४ लाइनमा बसेका थिए। उनीहरु घण्टौं लाइन लागेर मन्दिर दर्शन गर्ने पालो कुरिरहेका थिए। तर, मन्दिर बाहिरबाटै दर्शन गर्ने, रमाइलो हेर्न आउने तथा गाजा खान आउनेहरुलाई व्यवस्थापन गर्न प्रहरीलाई गाह्रो परिरहेको थियो। यस्तो भीडले ड्युटीमा खटिएका प्रहरीलाई पेलिरहेको थियो।

मृगस्थली वनदेखि किराँतेश्वर मन्दिरसम्म जाने बाटोमा हजारौं मान्छेको भीड थियो। जो रमिता हेर्न पशुपतिनाथ पुगेको थियो। त्यहाँ उनीहरु बाँदरलाई जिस्क्याउने, साधुहरुलाई जिस्क्याउने र महिला तथा केटी जिस्क्याउने गरिरहेका थिए। त्यस्तो भीडलाई सम्हाल्न प्रहरीलाई सामान्य लाठीचार्ज समेत गर्नुपरेको थियो। सबै एउटै ठाउँमा ओइरिने भएकोले भीडले प्रहरीलाई समेत पेलिरहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.