|

बैतडी : गत फागुनमा चितुवाले आक्रमण गर्दा बैतडीको मेलौली नगरपालिका-९ की सीता लुहारले ज्यान गुमाइन्‌। राष्ट्रिय निकुञ्‍जले मानव वन्यजन्तु द्वन्द्वमा क्षति भोग्ने परिवारलाई नियमअनुसार राहत उपलब्ध गराउनुपर्ने हो। तर, लोहार परिवारले अझै राहत पाएको छैन।

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई वन कार्यालयले पीडित परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ दिने गर्दछ। वन कार्यालयले राहतको पैसा उपलब्ध गराउन राष्ट्रिय निकुञ्जसँग माग गरिएको डिभिजन वन कार्यालय बैतडीका डिभिजनल वन अधिकृत केशव पराजुलीले बताए।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका, २०६९ (संशोधित २०७५) बमोजिम वन्यजन्तुको आक्रमणमा परी मानिसको मृत्यु भएमा अधिकतम १० लाख रुपैयाँसम्म उपलब्ध गराउने नीति रहेको छ।

उनले भने, ‘सबै प्रक्रिया पुर्‍याएर निकुञ्ज कार्यालयमा आवश्यक कागजात पठाइएको भएपनि माथिबाट नै पैसा नआउँदा राहत दिन सकिएको छैन्, निकुञ्जले पनि सरकारबाट उक्त रकम प्राप्त नभएको जानकारी दिएको छ।’ 

आठ वर्षकी सीतालाई गत फागुन २६ गते राती चितुवाले ओछ्यानमै आक्रमण गरी मारेको थियो। वि. स. २०६८ सालयता बैतडीमा नरभक्षी चितुवाको आक्रमणबाट २५ जनाको ज्यान गइसकेको छ। 

जिल्लाको तल्लोस्वराडमा चितुवाले बढी आक्रमण गर्ने गरेकोले उक्त क्षेत्रमा सचेतनामूलक कार्यक्रमहरु पनि जारी राखिएको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.